Logo

गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता: पूर्वराष्ट्रपति यादव



Spread the love

२६ असोज, काठमाडाैँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रम’मा उनले गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेताका कारण मुलुकमा लोकतन्त्र आएको बताए ।

“जङ्गलमा विद्रोह गरेर बसेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको छ,” उनले भने । पूर्वराष्ट्रपति डा यादवले कोइरालाले चारवटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उनलाई कसैले थुन्ने आँट नगरेको उल्लेख गरे । गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उल्लेख गरे । दलका नेताले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्