Logo

तत्कालीन वाईसीएलले लगायाे १५५ सदस्यकाे टुंगो



Spread the love

८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समितिमा रहनेहरुमध्ये आफ्नो भागमा परेको संख्या अनुसारको नामावली तत्कालीन वाईसीएल नेपालले टुंगो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन वाईसीएलको भागमा परेको १५५ जना सदस्यकाे टुंगो लागेको हाे ।

फाइल तस्बिर

हरेक जिल्लाबाट एक-एक जना प्रतिनिधित्व हुनेगरी साविक वाईसीएलको भागमा परेको १५५ जना सदस्यकाे टुंगो लागेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा तत्कालीन वाईसीएलका अध्यक्षसमेत रहेका रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ । एकता प्रक्रियापछि २१५ सदस्यीय रहेकाे तत्कालीन वाईसीएलको केन्द्रीय समितिमा अब आउँदा ६० जना छुट्ने छन् ।

उमेर हद ४० वर्ष ननाघेका केन्द्रीय पदाधिकारी तथा सबै प्रदेश संयोजक ११५ जनामा अटाएका छन् ।  प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्यसहित तीन-तीन जना छानिएका छन् ।

यसैगरी केन्द्रीय कार्यालयअन्तर्गत रहेका विभागहरु, आयोगहरु, १६ देखि २४ वर्ष उमेर समूहमा रहेकाहरु तथा समावेशी प्रतिनिधित्वका आधारमा पनि केन्द्रीय समितिमा रहनेहरुको नाम टुंगो लगाइएको छ ।

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखा र सहसंयोजक रमेश पौडेलले २७ भदौमा सपथग्रहण गर्दा ९ असोजको बैठकबाट केन्द्रीय समिति टुंगो लगाउने भनिएको थियो । पूर्वएमाले निकट युवा संघ नेपालको तर्फबाट भने नामावली टुंगो लाग्न बाँकी नै छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन प्रदेशको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमति समेत भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्