Logo

हुँदै नभएको प्रदेश प्रहरीका लागि करोडौँका गाडी खरिद



Spread the love

८ असोज, काठमाडाैँ – गठन नै नभएको प्रदेश प्रहरीका लागि सुदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका नौवटा गाडी किनेर साढे २ महिनादेखि चौरमा थन्क्याएको छ।

बजेट सक्न गत आर्थिक वर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् ।

मिडियाले यसबारे चासो राखेपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले किनिएका गाडी संघीय सरकारमातहत रहेको नेपाल प्रहरीलाई दिने निर्णय गरेको छ ।

सुदूरपश्चिमका नौवटै जिल्ला प्रहरी कार्यालयलाई एक–एक गाडी दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव किशोरकुमार चौधरीले बताए ।

कर्णाली सरकारले पनि गत वर्ष प्रदेश प्रहरीका लागि तीन करोड ३० हजारमा १४ गाडी किन्यो । २ मिनी ट्रक, दुई टाटा जेनुन, ८ बोलेरो क्याम्पर र एक–एक टाटा सफारी र स्कारपियो फाइभ एस खरिद गरिएका थिए ।

तर, लामो समयसम्म थन्क्याइएका गाडी अन्ततः नेपाल प्रहरीको जिम्मा लगाइएको छ । ‘प्रदेश प्रहरी गठनमा ढिलाइ भएकाले मन्त्रिपरिषद्बाट निर्णय गराएर कर्णाली नेपाल प्रहरीलाई मैले नै गाडी हस्तान्तरण गरेको हुँ,’ आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले भने ।

प्रदेशको शान्तिसुरक्षा प्रभावकारी बनाउन प्रहरीलाई दुई चरणमा गाडी खरिद गरिएको उनले बताए ।

प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस्