Logo

आशलाग्दा नमूनायोग्य कामको प्रचार हुनुपर्छ: उपराष्ट्रपति पुन



Spread the love

८ असोज, काठमाडाैँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सञ्चारजगत्ले राज्यलाई खबरदारीसँगै जनतामा आशा जगाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा मंगलबार आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम भइसकेकाले अब जनतामा आशाको सञ्चार गर्ने सूचना प्रवाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले भने, “देशले राजनीतिक स्थायित्व हासिल गरेको छ । शान्ति कायम भएको छ । अभिव्यक्ति स्वतन्त्रता कायम भएको छ । देश विकास र समृद्धिको मार्गमा अग्रसर छ । आशलाग्दा नमूनायोग्य कामहरु पनि भइरहेका छन् । यसको पनि प्रचार हुनुपर्ला !”

जनताका अधिकार, समानता, स्वतन्त्रताको रक्षासँगै भ्रष्टाचार न्यूनीकरण, विभेदको अन्त्य र राज्यलाई निरन्तर खबरदारी गर्ने पत्रकारिता क्षेत्र विवेकले भरिएको प्रतिपक्ष प्रेस भएकाले स्वाभिमान र कर्तव्य भुलेर प्राथमिकता बिर्सनु नहुने उनको धारणा थियो ।

नेपाल टेलिभिजनका सिन्धुपाल्चोक समाचारदाता नेत्र पौडेल, इमेज टेलिभिजन समाचारदाता गृष्मा राजभण्डारी, क्यामेराम्यानद्वय दिनेश मानन्धर र कुमार थापालाई यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण गरियो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ । समारोहमा अग्रज पत्रकार सम्मान समाचार शाखाप्रमुख राजु सिलवाललाई प्रदान गरियो ।

कार्यक्रममा जयप्रकाश स्मृति सम्मान प्रमुख निर्माता डा टङ्क उप्रेती, नेपाल टेलिभिजन समाचार सम्मान कार्यकारी सम्पादक सतीशचन्द्र पौडेल, शशि चालिसे स्मृति सम्मान कार्यकारी क्यामेराम्यान सुरेशराज मानन्धर तथा वीरेन्द्र कार्की स्मृति सम्मान वरिष्ठ दृश्य सम्पादक सम्झना कर्माचार्यलाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही पाँच हजार रहेको छ ।

तेह्र वर्षअघि हिजोकै दिन, ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा नेपाल टेलिभिजन पत्रकार हेमराज भण्डारी र सुनिलकुमार सिंहको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्