Logo

मुलुकले काँचुली फेर्छ, धैर्य गरौँ : प्रधानमन्त्री ओली



Spread the love

३ असोज, काठमाडौँ l देशमा विकासका लागि जग बनेको र अब विकासले तीव्रता पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् l

आज काठमाडौँको टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले अघिल्लो वर्षलाई आधार वर्षका रूपमा घोषणा गरेको र त्यो आधार तयार भएकाले अब तला थप्दैथप्दै अघि बढ्ने स्पष्ट पारेका छन् l

विकास र समृद्धिका लागि मुर्छित सपनामाथि पानी छरेकै हो भन्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो काम मुर्छित सपना जगाउनु नै थियो ।’

स्वयंले पहिला गरेको प्रतिबद्धता अनुसार नै अब केही हुन्छ भनेर नै सर्वसाधारणमा आसाको सञ्चार पैदा भएको बताउँदै संविधान कार्यान्वयनका पक्षमा पक्ष र प्रतिपक्ष नहुने भन्दै त्यसमा सबैको भूमिका उस्तै रहनुपर्ने धारणा व्यक्त गरे l

संविधानप्रति असन्तुष्टि राख्दै प्रधानमन्त्री ओलीले संविधानभन्दा बाहिर रहेकाहरूलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न पनि आग्रह गरेका छन् l उनले भने, ‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खलबल्याउने काम भए सरकारले त्यसलाई रोक्छ, लोकतान्त्रिक प्रणाली सुदृढ भए मात्रै जनता सुखी हुन्छन् ।’

नेपालीहरूको सम्मृद्धिको सपना साझा सपना भएको भन्दै त्यस सपना पुरा भएरै छाड्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मुलुकले काँचुली फेर्छ । हाम्रा सपना पुरा हुन्छन् । धैर्य गरौँ । मुलुक बन्ने ठोस आधार तयार भएका छन् l’

थोरै चिन्ता फुर्सदिलो युवापंक्तिमा भएको भन्दै उनले भने, ‘मलाई थोरै चिन्ता फुर्सदिलो युवा पंक्तिमा छ, जसको ऊर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च भइरहेको छ l युवाहरूलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह गर्छु ।’

असोज ३ गते अर्थात् आज सबैभन्दा ठुलो चाडको दिन भएको भन्दै संविधान संशोधन गरेर अघि बढ्न सकिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘जुन बेला जे मिल्दैन, त्यसलाई सच्चाउँदै अघि बढ्न सकिन्छ l’

प्रतिक्रिया दिनुहोस्