Logo

बिपी सङ्ग्रहालयमा वृक्षरोपण



Spread the love

२४ भाद्र, काठमाडाैँ –  नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले महामानव विश्वेश्वरप्रसाद कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेको छ । नेविसङ्घले आज विपी कोइरालालाई बन्दी बनाएको स्थान सुन्दरीजलमा वृक्षरोपण गरेको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपीवादी हुनु भनेको परिवर्तनलाई आत्मसात् गरेको बताए । “अग्रगामी र प्रगतिशीलको मुद्दालाई अगाडि बढाउने नेता बिपी कोइराला हुनुहुन्थ्यो”, उनले भने । नेता पौडेलले समाजमा भएको विभेद्कारी तथा परम्परावादी मुद्दालाई अन्त्य गरेर अगाडि बढ्नु जरुरी रहेको उल्लेख गरे । बिपी कोइरालाले प्रतिपादन गरेको समाजवादलाई पुनःपरिभाषित गर्नु जरुरी रहेको उनको भनाइ थियो । उनले बिपी सङ्गहालयलाई लोकतान्त्रिक आन्दोलनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्ने बताए ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिपी सङ्ग्रहालयको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बिपी कोइराला नेपाली काङ्ग्रेसको मात्र नभएर मुलुकको नेता भएको उनको भनाइ थियो । उनले काङ्ग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको बताए । तत्कालीन पञ्चायती व्यवस्थाको विरुद्धमा आवाज उठाउँदा बिपी कोइरालालाई उक्त जेलमा बन्दी बनाइएको थियो । कार्यक्रममा १०६ वटा कपुरको बिरुवा रोपिएको नेविसङ्घका नेता सुशील भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्