Logo

देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



Spread the love

२४ भाद्र, काठमाडाैँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् ।

भेटवार्तामा उनिहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी परराष्ट्रविद् डा. दिनेश भट्टराईले जानकारी दिए ।

सो अवसरमा सभापति देउवाले यसप्रकारको भेटघाटले दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउँदै चीनले नेपालको पूर्वाधारलगायत क्षेत्रमा गरेको सहयोगको प्रशंसाकासाथ निरन्तरताको अपेक्षा गरेका थिए । साथै उनले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।

सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेका थिए । विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने जानकारी दिएको डा. भट्टराईले बताए । सो भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए । विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्