Logo

चीनबाट नेपालले सहयोगको ठुलो अपेक्षा राखेको छ : अध्यक्ष प्रचण्ड



Spread the love

२१ भदौं, काठमाडौँ l चीनबाट नेपालले तीव्र विकास र सहयोगको अपेक्षा राखेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

‘नेपाल चाइना इकोनोमिक एन्ड ट्रेड कर्पोरेसन फोरम २०१९’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एक चीन नीति र नेपाली भूमिलाई कुनै पनि हालतमा चीन विरुद्ध प्रयोग गर्न दिइने छैन भनेर दृढता राख्दै आएको नेपाल अब आर्थिक वृद्धिको निम्ति चिनियाँ जनता र सरकारको तर्फबाट तीव्र विकास र सहयोगको अपेक्षा राखेको छ ।’

नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा रूपान्तरित गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए l

उनले भने, ‘यस प्रक्रियामा चिनियाँ सरकार, जनता, लगानीकर्ता र व्यवसायीहरूबाट नेपाली जनता र सरकारले धेरै ठुलो आशा र अपेक्षा राखेको छ l’

नेपालमा राजनीतिक स्थायित्व र लगानी मैत्री वातावरण बन्दै गरेको अध्यक्ष प्रचण्डले बताउँदै स्वयंले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको पनि स्मरण गरे ।

अध्यक्ष प्रचण्डले चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको बताउँदै उनले भने, ‘विश्व शान्ति, स्थिरता र समृद्धिको निम्ति पनि मानव जातिले अहिले चीनतिर बडो आशा र भरोसाको दृष्टिले हेरिरहेको स्थिति छ l’

प्रतिक्रिया दिनुहोस्