Logo

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुग्यो : दाहाल



Spread the love

२० भाद्र, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

बिहीबार नेकपाको विदेश मामिला विभागको हस्तान्तरण कार्यक्रममा उहाँले पार्टी एकता केही ढिला भए पनि अब बस्ने बैठकले पार्टी एकतालाई सम्पन्न गर्ने बताए । सो अवसरमा तत्कालीन नेकपा(माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले नेकपाका विदेश मामिला प्रमुख माधवकुमार नेपाललाई पद हस्तान्तरण गरे ।

पार्टी एकताका केही बाँकी काम रहेकाले पनि केहीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस गरेको उल्लेख गर्दै उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिएर जनतामाझ जाने बताए ।

“पार्टी एकता सकाएर पार्टीका नीति, योजना, कार्यक्रम विचार प्रशिक्षण अभियानको रुपमा चलाउने छौँ”, उनले भने, “कस्ता कस्ता जटिल र अप्ठारा परिस्थितिलाई चिरेर यहाँसम्म पुर्याएका छाैँ । एकताबद्ध भएर अभियानमा गयौँ भने अबको परिस्थिति सामान्य नै हुन्छ । एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्ने छौँ ।” उनले कसैको दया नभई थुप्रै चुनौतीलाई पार गरेर अहिलेको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताए ।

“पार्टी एकता भएपछि जुन तदारुकता र तीव्रताका साथ तीन महीनाभित्र सकेर तुरुन्तै जनताको बीचमा जाने कमिटीको बैठक गर्ने, स्थानीयदेखि प्रादेशिक तह, सङ्घीय सरकारसम्मलाई निर्देशित गर्ने सरकारलाई प्रभावकारी बनाउनुपर्ने, गल्ती भयो भने त्यसलाई खबरदारी गर्नुपर्ने थियो । हामीले त्यसो गर्न सकेनौँ”, उनले भने, “त्यो थोरै हाम्रो कमीकमजोरीलेले प्रतिक्रियावादीले अतिरञ्जीत ढङ्गले प्रचार गर्ने र प्रतिक्रियावादीले टाउको उठाउने जमर्को गरेको हामीले देख्ने सुन्ने गरेको छौँ ।”

प्रतिक्रिया दिनुहोस्