Logo

भारतीय अर्थतन्त्र धरापमा, करोडौं रोजगारी गुम्ने अवस्थामा



Spread the love

१९ भदौ, काठमाडौं । भारतको अर्थव्यवस्था लगातार घटिरहेको छ । पछिल्लो दुई महिनाको अवधिमा झन् भारतीय अर्थतन्त्रमा निकै ठुलो झड्का लागेको  समाचारहरु सर्वत्ररुपमा छाएका छन् । गत शुक्रवार भारतीय केन्द्रीय बैङ्कले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको तथ्याङ्कले पनि भारतीय अर्थतन्त्रको गति मन्द भएको सङ्केत गरेको छ ।

आर्थिक वर्ष २०१९/२०२० को अप्रिल-जुन तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार आर्थिक वृद्धिदर (जीडीपी ग्रोथ) ६ वर्ष यताकै सबैभन्दा कम रही ५ प्रतिशतमा झरेको छ ।

अघिल्लो आर्थिक वर्षदेखि नै भारतीय घरेलु अर्थव्यवस्थाको वृद्धि निरन्तर घटिरहेको थियो । गत वर्षको जुन त्रैमासिकमा आर्थिक वृद्धि दर ८ प्रतिशत रहेकोमा सेप्टेम्बरमा घटेर ७ प्रतिशतमा झर्‍यो । डिसेम्बर त्रैमासिकमा यो घटेर ६.६ प्रतिशतमा खुम्चियो भने मार्च त्रैमासिकमा आइपुग्दा ५.८ प्रतिशतमा खुम्चिइसकेको थियो ।

भारतीय अर्थतन्त्रको सुपरीवेक्षण गर्ने संस्था सीएमआईका अनुसार ४० लाखदेखि ४ करोडको हाराहारीका मानिसहरुले रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । शहरी क्षेत्रको तुलनामा  ग्रामीण क्षेत्रमा रोजगारी गुमाउनेको दर बढ्दै गएको देखिएको छ ।

भारतीय अर्थशास्त्रीहरुले मोदी सरकारले कमजोर नीतिसँगै नोटबन्दीको निर्णय र जीएसटी लागूको घोषणा गरेका कारण यस्तो समस्या उत्पन्न भएको बताएका छन् ।

तर, अर्थतन्त्र ओरालो लागेको विषयलाई भारतीय अर्थमन्त्री निर्मला सितारमणले स्वीकार गरेकी छैनन् । देशमा भएको अर्थतन्त्रको गिरावटलाई मध्यनजर गर्दै उनले देशमा रहेका १७ वटा ठुला सरकारी बैंकहरुलाई गाभेर १२ वटा मात्र बनाउने घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्