Logo

अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता



Spread the love

१९ भाद्र, काठमाडाैँ – दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रियसभा अध्यक्ष मुन हि–साङ बीच भेटवार्ता भएको छ ।

कोरियाका राष्ट्रियसभा अध्यक्षको कार्यालयमा बुधबार भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताएको उनका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।

प्रेस संयोजक पौडेलका अनुसार दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको भन्दै उनले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरे । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौँ नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्नेसमेत बताए ।

उनले नेपाल र कोरियाको संसद्बीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताए । उनले कोरियाले लोकतन्त्र स्थापनाको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भने, “विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मेहनत जनताबाट समृद्धि तथा प्रगति हुन सक्छ ।”

अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्