Logo

नेपाल मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने



Spread the love

१७ भाद्र, काठमाडाैँ – मालदिभ्सको राजधानी मालेमा भोलिदेखि शुरु हुने हिन्द महासागर सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार अपराह्न मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गरेका छन् ।

त्यसअवसरमा उनिहरुबीच व्यापार, पर्यटन, जलवायु परिवर्तनका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा सहयोग बढाउने विषयसहित पारस्परिक विविध मामिलामा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

नेपाल र मालदिभ्सबीच विद्यमान अत्युत्तम सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले त्यसलाई नयाँ उचाइमा पुर्याउन सहमति जनाएको प्रवक्ता पौड्यालले जानकारी दिए । पहाड र समुद्रबीच मूलभूत रुपमा सम्बन्ध रहेको सन्दर्भ कोट्उँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनले ल्याएका चुनौती सामना गर्न पहाडी देश र टापु राज्यहरुबीचको सहकार्यमा जोड दिएका थिए । मन्त्री ज्ञवालीले आगामी चैतको तेस्रो साता नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन मालदिभ्सका विदेशमन्त्रीलाई गरेको आमन्त्रण उनले स्वीकार गरेको पनि प्रवक्ता पौड्यालले बताए ।

नेपाली नागरिकलाई मालदिभ्समा रोजगारीका अवसर प्रदान गरेकामा मालदिभ्स सरकारप्रति मन्त्री ज्ञवालीले हार्दिक आभार प्रकट गरेका थिए भने प्रत्युत्तरमा मन्त्री सइदले मालदिभ्सका विद्यार्थीलाई नेपाल सरकारले चिकित्साशास्त्र अध्ययनको अवसर जुटाइदिएकामा धन्यवाद ज्ञापन गरे ।

प्रवक्ता पौड्यालका अनुसार पर्यटन क्षेत्रका सम्भावना र त्यसको विशिष्टता दर्शाउँदै दुवै देशका परराष्ट्रमन्त्रीले राष्ट्रिय अनुभवका आधारमा त्यसलाई प्रवद्र्धन गर्न सहमति जनाएका छन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ जोड्दै अधिकभन्दा अधिक मालदिभ्सका नागरिकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गरेका थिए । सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली सोमबार बिहान माले पुगेका हुन् । भोलि उनले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्