Logo

कोठा नम्बर ६०४ को चाबीले सुल्झायो ‘चिनियाँ ह्याकरहरू’को रहस्य !



Spread the love

काठमाडौं । हिजो( शनिवार) दिउँसो करिब ४ बजे काठमाडौं प्रहरी परिसरका प्रहरी अधिकारी आन्तरिक बैठकमा व्यस्त थिए । बैठक चलिरहेका बेला परिसर प्रमुख एसएसपी उत्तम सुवेदीको फोनको घण्टी बज्यो ।

‘दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम बुथबाट असामान्यरुपमा पैसा निकालिँदैछ ।’ ‘हामीलाई शंका लाग्यो सर, केही गर्नुपर्यो ।,’ सुवेदीको फोनमा यस्तो अनुरोध आयो । एसएसपी सुवेदीलाई फोनमा यसरी जानकारी गराउने व्यक्ति प्रभु बैंकका कर्मचारी थिए ।

ती कर्मचारीले बैंकको एटीएम सिस्टम ह्याक भएको शंका गर्दै यति कुरा सुनाएपछि एसएसपी सुवेदीले तत्कालै परिसरका डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा सादा पोशाकका टोली खटाए । टोलीले थोरै पनि ढिला नगरी अनुसन्धान थाल्यो ।

प्रहरीलाई सूचना दिने प्रभु बैंकका कर्मचारीले नविल बैंकको दरवारमार्गको एटीएम मेसिनको कुरा गरेका थिए । त्यसैले प्रहरीको तीनवटा वृतको कार्यक्षेत्र पर्ने दरबारमार्ग, कमल पोखरी र लैनचौर प्रहरी वृत्तलाई समेत अपरेसनका लागि मुभ गरियो ।

अपरेसनका क्रममा प्रहरी टोलीले नविल बैंकको दरबारमार्गस्थित एटिएम बूथबाटै एक जनालाई पक्राउ गर्यो । प्रहरीसँग जम्काभेट हुँदा उनी मौन बसे । ‘ऊ लाटो झैँ उभिइरह्यो, गोजी छाम्दा ४५ हजार रुपैयाँ भेटियो’, अपरेशनको नेतृत्व गरेका डीएसपी बोगटी भन्छन्, ‘शुरुमा वैधानिकरुपमै पैसा निकालेको होलाजस्तो लागेको थियो । तर, झोलामा हेर्दा २० वटा नक्कली एटीएम कार्ड देखेपछि शंकालाई लाग्यो ।’

 कोठा नम्बर ६०४ को चाबी फेला 

उनीबारे सोधीखोजी गर्दै जाँदा उनी चिनियाँ नागरिक भएको थाहा भयो । उनको नाम थियो – झु लियाङग्याङ । झुसँग प्रहरीले हात्तीसारको जयनेपाल हल नजिकैको होटल माया मनोरम बुटिकको कोठा नम्बर ६०४ को चाबी पनि फेला पारेको थियो ।

त्यसपछि डिएसपी बोगटीको टोली झुसँग भेटिएको चाबी लिए होटल मनोरम बुटिक पुग्यो । होटलको कोठा नम्बर ६०४ जान लिफ्ट चढ्दै गर्दा लिप्टमा सुटकेश सहित ३ जना चिनिया नागरिक बाहिरिन लाग्दै गरेको भेटियो ।

‘होटलबाट बाहिरिन लागेका व्यक्तिको शंका लाग्यो, हामीले तत्काल खानतलासी गर्यौं, ती तीन जना नै एटीएम ह्याकिङमा संलग्न व्यक्तिहरु रहेछन्, उनीहरु झुकै साथी रहेछन्,’ डिएसपी बोगटीले भने ।

फ्गफ्ग्फ्द

प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दै जाँदा थाहा भयो, नेपालबाट रातारात अर्बौं रुपैयाँ चोर्ने गरी चाइनिज गिरोह सक्रिय भएको रहेछ । शनिवार नै उनीलाई नसमातेको भए नेपाली बैंकबाट एक रातमै अर्बौं रुपैयाँ चोरी हुन सक्थ्यो ।

त्यसपछि प्रहरीले थप एक जना ह्याकरलाई पक्राउ गर्यो । उनीहरुलाई आजैमात्र प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जेलनेमाङ, लुयो जेलालिले, क्यू योङ  चेङ विन विन रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट कुल १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन १ हजार १  सय ९१, ९ हजार १ सय आठ अमेरिकी डलर, युरो २ सय पचास र कम्बोडियाको मुद्रा ५ हजार पनि बरामद गर्‍यो ।

प्रहरीले नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, एउटा कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्डसमेत बरामद गरेको छ ।

फ्फ्फ़

चीनमै योजना

प्रहरीका अनुसार चीनको सांघाइबाट चाइना एयरलाइन्समार्फत काठमाडौं आएका ह्याकर समूहले नेपालका बैंक ह्याक गरी एकदुई दिनमा फर्किने योजना चीनमै बनाएर आएका थिए ।

‘बेलैमा थाहा भयो र हाम्रा बैंकका पैसा जोगियो,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुबेदीले बताए ।

एक करोड ६८ लाख चोरी

राष्ट्र बैंकका कार्यकरी निर्देशक बमबहादुर मिश्रले ह्याकर समूहले एक करोड ६८ लाख ५४ हजार रुपैयाँ ह्याक गरेर लिएको प्रारम्भिक तथ्यांक आएको बताए । यो अंक बढ्नसक्ने उनको भनाइ छ ।

कुन बैंकबाट कति झिकियो ?

ह्याकरले कुन–कुन बैंकबाट कति–कति रकम लिए भन्नेबारे पूर्व विवरण आएको छैन । तर, एनआइसी एसिया, प्रभु र नविल बैंकबाट बढी पैसा निकालेको हुनसक्ने अनुमान राष्ट्र बैंकको छ ।

भारतबाट पनि झिकियो

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङगाना अनुसार चिनियाँ ह्याकर समूहले भिजा कार्ड सिस्टम ह्याक गरेका हुन् । बैंकिङ नेटवर्क भिजा कार्ड प्रयोग हुने चारवटा स्वीचमध्ये ह्याकर समूहले एउटा स्वीच ह्याक गरेर पैसा लिन खोजेको उनको भनाइ छ ।

‘ह्याकरको समूहले नेपालमात्र नभएर भारतको एटीएम बुथबाट समेत केही बैंकको रकम लिएको देखिएको छ, हामी यसको अनुसन्धानमै छौं,’ ढुङगानाले भने ।

मुख्य ह्याकर अझै फरार

प्रहरीका अनुसार शुक्रबार उनीहरुको समूहमा आठ जना ह्याकर आएको खुलेको छ । जसमध्ये पाँच जना पक्राउ परे पनि अन्य तीन जना अझै फरार छन् । पक्राउ परेका पाँच जना उनीहरुको सहयोगी भएको अनुमान प्रहरीको छ ।

पक्राउ परेकाहरु रकम निकाल्न खटिने व्यक्ति मात्रै भएको स्रोत बताउँछ । ‘जसले सिस्टम ह्याक गरेको हो, ऊ चाहिँ भाग्न सफल भएको देखिएको छ’, प्रहरी भन्छ, ‘तीन जना भागेको हुन सक्ने आशंका छ, हामीले अनुसन्धान गरिरहेका छौं ।’

फरार भएका तीन जना ह्याकर होटलमा बसेर बैंकको सिस्टम ह्याक गर्ने र पक्राउ परेका व्यक्तिहरुलाई एटीएम बुथबाट पैसा लिन पठाउने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका मध्ये एकजनाको शनिबारै चीन फर्किन टिकट बुकिङ रहेको प्रहरी बताउँछ । स्रोतका अनुसार शनिबार बैंकको ट्रान्जेक्सन मोनिटर नहुने थाहा पाएर रकम झिकिएको देखिएको छ ।

८ जनाको समूह, एकअर्कालाई चिन्दैनन्

अनुसन्धान अधिकृतका अनुसार गिरोहले ४/४ जनाको गरी दुईवटा समूह बनाएको देखिएको छ । पहिले पक्राउ परेका लियांङको समूहका चारै जनालाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ भने अर्को समूहका एक व्यक्ति पनि समातिएको जनाइएको छ ।

‘लियांङको समूहले अर्काे समूहका ती एक व्यक्तिलाई चिन्दैन’, एक अनुसन्धान अधिकृतले भने, ‘मुख्य योजनाकारले पैसा निकाल्नमात्रै उनीहरुलाई परिचालन गरेको जस्तो देखिन्छ ।’ स्रोतका अनुसार पक्राउ परेको दोस्रो समूहको अर्का व्यक्तिका सहयोगीको खोजीलाई पनि जारी राखिएको छ ।

प्रहरीले बैंकिङ प्रणालीमा अनाधृकित प्रवेश गरेर ह्याक गर्ने मुख्य योजनाकार होटलमा बसेर भिन्दाभिन्दै समूहलाई रकम निकाल्न परिचालन गर्ने गरेको हुन सक्ने आशंका गरेको छ । मुख्य योजनाकार बाहिरै रहनुले नेपाली बैंक अझै जोखिममा हुन सक्ने देखिएको छ ।

साइबर सुरक्षा माथि प्रश्न :

यो प्रकरणले मुलुकको बैंकिङ प्रणालीमाथि विदेशी ह्याकरको सहज पुहँचलाई देखाएको साइबर विज्ञको टिप्पणी छ । घटनाले नेपाली बैंकको सुरक्षा प्रणालीमाथि मात्रै प्रश्न उठाएको मात्र छैन, सेवाग्राहीको विवरण र तथ्यलाई सुरक्षित गर्ने विषयमा नेपाली बैंकको उदासीनतालाई पनि छर्लङ पारिदिएको छ ।

साइबर सुरक्षाविद् विनोद ढकाल भन्छन्, ‘साइबर सेक्युरिटीको विषयमा बैंकले एकदमै कम्प्रमाइज गरेको देखिन्छ, जसलाई शनिबारको घटनाले पनि पुष्ट्याइँ गरेको छ ।’ अब बैंकले सुरक्षा प्रणालीलाई कसरी सुरक्षित बनाउने भनेर सतर्क हुनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्