Logo

बैङ्क ह्याकिङ प्रकरणबारे अध्यक्ष ढुङ्गानाले भने- “निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु”



Spread the love

 

१५ भदौं, काठमाडौँ l नेपाल बैंकर्स सङ्घले एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिकेता पनि बैङ्कहरूमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ ।

चिनियाँ ह्याकरहरूले ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका छन् । सोही चोरीक्रममा गए राती ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

एटीएम मेसिनबाट नै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो । चोरीमा संलग्नहरूलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताउँदै उनले भने, ‘केही रकम चोरी भएको छ तर बैङ्कहरू त्यो नोक्सान बेहोर्न सक्षम छन् । सर्वसाधारण निक्षेपकर्ताको नोक्सान हुँदैन । तपाइहरू डराउनुपर्दैन ।’

रकम चोरी गर्दागर्दै थाहा पाएका कारण ठुलो नोक्सानीबाट जोगिन पुगेको बैंकर्स सङ्घले बताएको छ । उनले भने, ‘सिस्टममा मालवेयर अट्याक भएको देखिएको छ तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो भन्ने छानबिन भइरहेको छ, भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको देखिएको छ ।’

उनले एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको बताउँदै यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भएता पनि उक्त रकम बैङ्कले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने बताए l

नोक्सान भएको रकममध्ये आधा रकम नगद नै जफत भएकोले धेरै तनाब नभएको बताउँदै रकम चोरिने खतरा भएकोले गए राति केही बैङ्कहरूको सर्भर डाउन गरिएको पनि उनले जानकारी दिए l

आज कार्यालय सुरु भएपछि एटीएम कारोबार पनि सुरु गरिएको ढुङ्गाना बताउँदै उनले भने, ‘अहिले हामी सुरक्षित छौँ, निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु ।’

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको छ l तर सर्वसाधारणको खातामा भएको रकममा भने कुनै किसिमको जोखिम छैन l

प्रतिक्रिया दिनुहोस्