Logo

डेंगु सरकारको नियन्त्रणबाहिर: राेकथामका लागि सुरक्षाकर्मी खटाइने



Spread the love

१३ भाद्र, काठमाडाैँ । डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि  सेना, प्रहरीसहित सबै पक्षको सहयोग अपिल गरेकाे छ ।  प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढेपछि यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेकाे हाे ।

भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण  दिदै ठाउँ र परिस्थिति हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा राख्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले चितवनमा नौ वर्षअघि पहिलो पटक डेंगुले महामारीको रूप लिँदा १ सय जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव सुनाए।

डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन् ।
२०७०÷७१ मा ३ सय २ जना, २०७१÷७२ मा १३४ जना, २०७२÷७३ मा १ हजार ५२७ जना, २०७३÷७४ मा २ हजार १११ जना, २०७४÷७५ मा ८११ जना, २०७५÷७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भइसकेका छन् ।  ४० दिनको अवधिमा प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ५६३ डेंगुका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ ।  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले देशमा डेंगु नियन्त्रण अभियानअन्तर्गत सेना, प्रहरीसम्म परिचालन गर्न सकिने संकेत गरेका छन् ।

घर वरपरका पानी जम्ने खाल्डा खुल्डी, गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिने उपाय अवलम्बन गर्न सके मात्रै डेगुंको जोखिम घट्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्