Logo

धमलालाई अन्तर्राष्ट्रिय अवार्ड



Spread the love

९ भाद्र, काठमाडाै – अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका अध्यक्ष अन्जन धमलालाई इन्टरनेशनल इन्स्ट्रक्टरको अवार्ड प्रदान गरेको छ ।

बुल्गेरियाको प्लामोदीप शहरमा आज अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ)को २७औँ काङ्ग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डका साथै मेडलबाट सम्मानित गरेको हो । आइटिएफ महासङ्घले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्व छनोट गरी दुर्ई–दुई वर्षमा सम्मान गर्दै आएको छ । यस वर्ष नेपालका धमलाले एक्त सफलता प्राप्त गरेको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिए ।

२७औँ महाधिवेशनका अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुशी व्यक्त गर्दै सो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकूद विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव, सीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकूदको विकास र विस्तारमा समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

“मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ”, धमलाले भने । “आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।”

धमला एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी थिए भने हाल नेपालका अध्यक्ष तथा दक्षिण एशियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत छन् ।

बुल्गेरियामा सम्पन्न काङ्ग्रेसले आगामी २२औँ विश्व आइटिएफ च्याम्पियनशिप सन् २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनशिप भने इटालीले मतदानमार्फत पाएको छ । जसमा भारत पराजित भएको थियो ।

सोही दौरान बुल्गेरियामा अगस्त ३१ सम्म सञ्चालन हुने २१औँ संस्करणको विश्व च्याम्पियनशिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धासमेत गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्