Logo

कामपा र ढाका नगरका प्रमुखबीच भेट



Spread the love

८ भाद्र, काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बङ्गलादेशको ढाका नर्थ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ । भेटका क्रममा प्रमुख शाक्यले बङ्गलादेश र नेपालबीचको सांस्कृतिक र रहनसहनमा समानता रहेको उल्लेख गरे । दुई देशबीच रहेका समानता नै आपसी हित प्रवर्द्धनका आधार भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय शहरसँगको सम्बन्धबाट कामपाले शहरी विकासका आयाम र शहरी व्यवस्थापनका थप सीप सिकिरहेको उनले बताए । उनले भने, “महानगरले सिकेको ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुग्ने विश्वास छ ।”

बङ्गलादेश भलिबल महासङ्घका अध्यक्षसमेत रहेका प्रमुख इस्लामले आगामी दिनमा खेलकूदले पनि दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ढाका नर्थ सिटी कर्पोरेशनले भोगेका कतिपय अनुभव काठमाडौँका लागि असल सिकाइ हुन सक्ने उनले बताए । आफ्नो नगरका समस्या र प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्दा कामपाले त्यस्तै खालका समस्या भोग्नु नपर्ने उनले बताए । उनले भने, “फोहर पानी प्रशोधन, घरेलु फोहोर व्यवस्थापन, शहरी योजनाका विषयमा हामी आफ्नो भोगाइ देखाउन र बुझाउन सक्छौँ ।”

नेपालका लागि बङ्गलादेशकf राजदूत मास्फी बिन्तेले नेपाल र बङ्गलादेश दुवै देशको शहरी यातायात व्यवस्थापनको समस्या उस्तै रहेको बताए । बङ्गलादेशमा हरियो भन्ने ठाउँ नै सकिन लागे पनि काठमाडौँमा त्यो अवस्था आइनसकेकाले समयमा नै सोच्नुपर्नेमा उनको जोड थियो । गत सोमबारदेखि शनिबारसम्म लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा सम्पन्न एशियाली स्तरको भलिबल प्रतियोगिताका लागि प्रमुख इस्लाम नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्