Logo

कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गए : अध्यक्ष प्रचण्ड



Spread the love

६ भदौं, काठमाडौँ l जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् l

आज ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिबद्धता बिर्सदै जाने र आफ्नै योगदानलाई भुल्दै जाने हो भने प्राप्त भएको उपलब्धि सजिलै गुम्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा फरक बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता उल्टन समय नलाग्ने भन्दै त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताए l

उनले पूर्वी युरोप, सोभियत सङ्घको उदाहरण दिँदै कम्युनिस्ट नेताले सत्तामा पुगेपछि कम्युनिस्ट चिन्तन सिद्धान्तको कार्यशैली भुल्न नहुने पनि बताए l

प्रचण्डले भने, “कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि, राजा महाराजाका विरुद्ध लडेका जनताहरू कम्युनिस्ट पनि राजा महाराजा जस्ता देखिएपछि यिनलाई पनि लखेट्नुपर्छ भन्ने यो विडम्बना देखियो इतिहासमा । हामीकहाँ पनि यसो हेर्दा लक्षण यस्तै देखिन्छ ।”

अध्यक्ष दाहालले दुई पार्टी मिलेर निर्माण भएको ठुलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि व्यक्ति गर्दै विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट हट्ने प्रवृति बढेको टिप्पणी गरे l

सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिद्धताहरु भुल्दै जाने प्रवृत्ति विश्वभरिका कम्युनिष्टहरुको विशेषता नै भएको बताउँदै मुलुकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिनतर्फ सचेत हुनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका छन् l

प्रतिक्रिया दिनुहोस्