Logo

चिजबल र विद्युतीय कारखानामा आगलागी



Spread the love
Fuoco 4

३ भाद्र, काठमाडाैँ – गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीको गुराया फुड्स प्रोडक्टस प्रालि र इस्टर्न इनर्जी प्रालि नामक दुई कारखानामा आज दिउँसो एकैसाथ आगलागी हुँदा करीब रु आठ करोडको क्षति भएको छ ।

कारखानामा विद्युत्को तार पड्किएर आगलागी भएको बताइएको छ । कारखानामा आगलागी हुँदा भण्डारण गरिएका चिजबल र विद्युतीय सामग्रीका कच्चा पदार्थ, त्यहाँ भएका उपकरण र भौतिक संरचना सबै जलेर नष्ट भएको कारखानाका सञ्चालक महेन्द्र सुवालले जानकारी दिए ।

“साढे चार रोपनी क्षेत्रफलमा रहेको सो चिजबल र विद्युतीय कारखाना पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका तयारी चिजबल, कुरकुरे, मकै, मैदा र विद्युतीय कच्चा पदार्थ सबै जलेर नष्ट भएका छन्”, सुवालले भने, “कारखानालाई पुनः मर्मतसम्भार गरेर सञ्चालन गर्ने सम्भावना छँदै छैन ।” दुवै कारखानामा प्रयोग हुने सामग्री भारतबाट आयात गर्नुपर्ने भएकाले अतिनै महँगो हुने सुवालले बताए ।

कारखानामा कार्यरत १२ कर्मचारी कसैलाई पनि सामान्यबाहेक मानवीय क्षति नभएको महानगरीय प्रहरी प्रभाव बाँडेगाउँका प्रहरी प्रमुख श्याम कटुवाल क्षेत्रीले जानकारी दिए । लामो समयसम्म आगलागी नियन्त्रण हुन नसकेका कारण उक्त घटनाको यकिन गर्न ढिलाइ हुने प्रहरीको भनाइ छ ।

आगलागी नियन्त्रणमा काठमाडाैँ र ललितपुर महानगरपालिकाका तीनवटा दमकलका साथै खुमलटारको राजदल गणका सैनिकसहित महानगरीय प्रहरी वृत्त चापागाउँ र बाँडेगाउँ प्रहरी खटिएका थिए ।

गुराया फुड्स प्रोडक्टस सुवालकी पत्नी सङ्गीता डङ्गोल र गुरु भेज सिंहको नाममा दर्ता भएको छ भने इस्टर्न इनर्जी प्रालि राजेन्द्र गोयलको नाममा दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्