Logo

अझै पक्राउ परेनन् प्रहरी कुट्ने २१ आरोपी



Spread the love

३ भदौ, वीरगञ्ज ।  घटना भएको ८ महिना बितिसक्दा पनि  प्रहरी माथि आक्रमण गर्ने तस्कर र तिनका समर्थक पक्राउ गर्न प्रहरीले सकेको छैन ।

गत पुस महिनामा पर्साको जगरनाथपुर गाउँपालिका– १ पाँडेपुरमा तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा  प्रहरीमाथि नै आक्रमण भएको थियाे ।  तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार समेत खोसेका थिए । आक्रमणमा परि ३ प्रहरी पनि घाइते भएका थिए ।

प्रहरीले घटनामा संलग्न २९ जना मध्य ८ जना पक्राउ गर्न सफल भएपनि बाँकि २१ जना भने पक्राउ गर्न सकेकाे छैन ।जसमध्य नगिना राउत गद्दीलाई घटनालगत्तै नियन्त्रणमा लिएको थियो । उनी पुर्पक्षका लागि कारागारमा छन् । घटनाका आरोपी २५ वर्षीय अब्बुलेस राउत गद्दी, २८ वर्षीय नेजारुल राउत गद्दी, २५ वर्षीय आविद राउत, २८ वर्षीय सफरदिन राउत गद्दी र अफसर आलम अदालतमा हाजिर भई धरौटीमा रिहा भएका छन् । उनीहरूले १ लाख ५० हजार देखि २ लाख २५ हजारसम्म धरौटी बुझाएर रिहा भएका हुन् । अन्यलाई भने पक्राउ गर्न प्रहरीले सकेको छैन ।

घटनालगत्तै प्रहरीले उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १८३ अनुसार कारबाहीको माग गरि ज्यान मार्ने उद्योगमा ११ भारतीय नागरिकसहित २९ जनाविरुद्ध मुद्दा गरेको थियो। ऐनको दफा १८३ को उपदफा (१) मा कसैले ‘कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नु हुँदैन ’ भनिएको छ । सोही दफाको उपदफा (२)मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

घटनामा निर्दोषलाई फसाएको आरोप स्थानीय केही व्यक्तिले प्रहरीलाइ लगाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘वडा अध्यक्ष मंगरु राउत गद्दीको दुई वटा छोरासहित ५ जना निर्दोष थिए, उनीहरुलाई घटनामा मुछिएको छ’, पत्रकार सम्मेलनमा नसरुल्लाह राउत गद्दीले भने ‘घटनामा संलग्नहरु गाउँमा खुलेआम घुमिरहेका छन् । प्रहरीलाई त कुट्यौं तिमीहरू को हौं र ? भनिरहेका छन् ।’ वास्तविक दोषी गाउँघरमै हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्