Logo

समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी



Spread the love

३ भाद्र, डडेल्धुरा –  समायोजनपछि चिकित्सक काममा नआउदा डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव देखिएको छ । अस्पतालको हालको सेवा सुविधा सञ्चालन गर्न नियमित १५ चिकित्सक आवश्यक पर्ने भए पनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेको अस्पताल स्रोतले जनाएको छ ।

ती १२ चिकित्सक मध्ये आठ मेडिकल अधिकृत समायोजन भएर अन्यत्र गएपछि अस्पतालमा चिकित्सक न्यून हुँदा बिरामीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि डडेल्धुरा पुगेका विरामी पनि पुनः तराईका जिल्ला धाउनुपर्ने बाध्यता रहेको उपचार गर्न धनगढी गएका बिरामी रमेश भण्डारीले बताए ।

अस्पतालका १२ मेडिकल अधिकृत मध्ये आठ जना स्थानीय र प्रदेश सरकारमा समायोजन भएर गएको अस्पताले जनाएको छ । एक चिकित्सक एक महीनाको काज बिदामा रहेकाले अहिले अस्पतालमा तीन चिकित्सक मात्रै रहेको निमित्त मेडिकल सुपरिटेण्डेड डा जितेन्द्र कँडेलले बताए ।

समायोजन भएर चिकित्सक नआउदा बिरामीको उपचार गर्नका लागि समस्या भइरहेको डडेल्धुरा अस्पतालका डा कँडेलले बताए । यो समयमा अस्पतालमा मौसमी बिरामीको चाप पनि धेरै रहेको उनको भनाइ थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रका रुपमा यो अस्पताल रहेको छ । अस्पतालमा हाल दैनिक दुईतीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । दाँत, हड्डी, पत्थरी, पेटसम्बन्धी र सुत्केरी हुन आउनेलाई बढी समस्या हुने गरेको बताइएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गरे ।

प्रतिक्रिया दिनुहोस्