Logo

प्रदेश २ सरकारमाथि अध्यक्ष प्रचण्डको प्रश्न- भ्रष्टाचार रोकिन थाल्यो त ?



Spread the love

२ भदौं, काठमाडौँ l प्रदेश २ को सरकारमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रश्न गरेका छन् । आज धनुषामा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचार बढेको, जनताले झन् दुःख पाएको स्वयंले सुनेको बताए ।

उनले भने, ‘यो दुई नम्बर प्रदेशको सरकारले तपाइहरूका निम्ति के कति राम्रो काम गर्‍यो ? यहाँ सुशासन सुरु भयो त ? विकासले गति लिन, भ्रष्टाचार रोकिन थाल्यो त ? जनतालाई दुःख पर्दा सरकार तुरुन्तै आएर सहयोग गर्न थाल्यो त ? मैले बुझेसम्म त्यस्तो भएको छैन ।’

प्रचण्डले अघि भने, ‘बरु यहाँ भ्रष्टाचार अझ बढ्यो भन्ने सुनिएको छ । तलैसम्म सुशासन छैन, जनतालाई झन् दुःख भएको छ भन्ने सुनिएको छ । के हामी यसका निम्ति लडेको हो त ? होइन ।’

प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीसहित दलहरूको टोलीले भेट्दा स्वयं पनि सहभागी रहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यस बैठकमा मधेसको समस्या समाधानका आफूले राखेको ‘कार्ययोजना’ बताए ।

बाढी, आगलागी र सीमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मास्टर प्लानसहित चुरे संरक्षण हुँदैन, तबसम्म तराईको मरुभूमिकरणको स्थायी समाधान छैन ।’

उनले पानीको समस्या समाधान गर्न जलाशय निर्माण गरेर जलाधार बनाउनुपर्ने, बाढी रोक्न सबै खोलानालामा जनता तटबन्ध योजना ल्याउनुपर्ने बताए l

जनता आवास कार्यक्रम ल्याएर झुपडीहरू हटाएर साना भए पनि पक्की घरमा रूपान्तरण गर्नुपर्ने प्रचण्डले बताए l प्रचण्डको हुलाकी, रेलमार्ग, द्रुतमार्ग, सुनकोशी कमला डाइभर्सन जस्ता ठुला परियोजनामार्फत तराईलाई सुरक्षित र समृद्ध बनाउनुपर्ने धारणा थियो । कम्युनिस्ट पार्टीको सरकारले मात्र यो सबै सक्ने अध्यक्ष प्रचण्डको दाबी छ ।

अझैसम्म मधेससँग आफ्नो सम्बन्ध नटुटेको भन्दै उनले भने, ‘हामीले सकेनौँ भने अरू कोही आएर सम्भव छैन ।’ सरकार र पार्टीको नेतृत्व छिट्टै आउने र मधेस विकासको योजना अगाडि बढाउने नेकपा अध्यक्ष प्रचण्डले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्