Logo

यो वर्षदेखि सरकारका काम तीव्ररूपमा अघि बढ्छन्ः मन्त्री बाँस्कोटा



Spread the love

१ भाद्र, काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षदेखि सरकारले आफ्नो कामलाई तीव्रगतिमा अघि बढाउने बताएका छन् ।

प्रेस सङ्गठन पर्वतले शनिबार साँझ गरेको पत्रकार भेटघाटमा सञ्चारमन्त्री बाँस्कोटाले गत वर्षसम्म संविधान कार्यान्वयन र विभिन्न ऐन कानून बनाउनका लागि सरकारले समय खर्चिएको बताउँदै अब हरेक क्षेत्रमा तीव्ररूपमा काम हुने बताए । मन्त्री बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउनका लागि पनि अब कछुवाको गतिमा होइन, खरायोको गतिमा काम हुने बताए ।

विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्ने गरी सरकार लागिरहेको बताउँदै उनले अब कुनै पनि क्षेत्रमा सञ्चालित आयोजनाबिना अवरोध द्रुतगतिमा सम्पन्न गर्ने गरी सरकारले योजनाबद्ध ढङ्गले अघि बढ्न लागेको बताए ।

मन्त्री बाँस्कोटाले भने, “कुनै पनि काममा ढिलासुस्ती गर्ने छुट अब रहँदैन ।” उनले दुईतिहाइ बहुमतको यो सरकारलाई जनताले माफी नदिने बताउँदै विगतमा नेपाली काङ्ग्रेसले बिगारेको ‘सिष्टम’ सम्हाल्नै दुई वर्ष लागेको बताए । “अब मुलुक पूरै विधि र प्रणालीबाट अघि बढ्छ”, उनले भने । अहिलेसम्म सरकारका गतिविधि सन्तोषजनक रहेको बताउँदै उनले बाँकी तीन वर्षमा तत्कालीन चुनावअघिको घोषणालाई पूरा गर्नेगरी काम गरिने बताए ।

ढिलो भए पनि नेकपा एकीकरणले पूर्णता पाएको उल्लेख गर्दै उनले सरकार र पार्टी अब एक मन एकताका साथ काममा सक्रिय हुने दावी गरे । मन्त्री बाँस्कोटाले दुईतिहाइको सरकार देखेर काङ्ग्रेस अत्तालिएको बताए । उनले सरकारलाई अनेक लाञ्छना लगाएर काङ्ग्रेसले जनतामा भ्रम सिर्जना गरेको बताउँदै हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे । उनले नेपाली काङ्ग्रेसकै नेतृत्वको सरकारका पालामा मुलुकमा बढी भ्रष्टाचार भएको बताए । उनले पछिल्लो समय धमाधम भ्रष्टाचारीहरु समातिन थालेको बताउँदै अख्तियारलाई सक्रिय बनाइएकाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए ।

अर्को प्रसङ्गमा बोल्दै उनले आमसञ्चार माध्यमलाई व्यवस्थित गर्न सञ्चार ऐन ल्याउन लागिएको बताए । सबैको हित हुने गरी सञ्चार ऐन ल्याइने बताउँदै उहाँले हरेक क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताए । उनले राष्ट्रियसभामा पेश भएको मस्यौदा सबैको सहमतिको आधारमा पारित गरिने बताए । मन्त्री बाँस्कोटाले कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अप्ठ्यारो पर्ने गरी नीति नल्याइने बताउँदै सबैका मागलाई सम्बोधन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्