Logo

तीन वर्षमा १६ हजारले गरे आत्महत्या, भ्रष्टाचार मुद्दा खेपेकाहरू पनि आत्महत्याको बाटोमा



Spread the love

३० साउन, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्मको तीन वर्षको तथ्याङ्कले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको हो । जसमध्ये सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको छ । तीन वर्षको अवधिमा झुन्डिएर मात्रै ११ हजार ९४१ जना अर्थात् करिब १२ हजारले आत्महत्या गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार २०७३/७४ मा मात्रै ३ हजार ७६१ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै, २०७४/७५ मा ३ हजार ८६८ जनाले तथा गत आर्थिक वर्षमा ४ हजार ३१२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
झुन्डिएर पछि सबैभन्दा बढी आत्महत्या विष सेवनबाट हुने गरेको प्रहरी तथ्याङ्क देखाउँछ । गत तीन वर्षको पहिलो वर्षमा १ हजार २१५, दोस्रो वर्षमा १ हजार ३६३ तथा गत आर्थिक वर्षमा १ हजार ३२० जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा. डा. सरोजप्रसाद ओझाले मनोवैज्ञानिक तथा सामाजिक दुई प्रमुख कारणबाट मानिसले आत्महत्याको निर्णयसम्म पुग्ने गरेको बताए । उनले समाजमा आफ्नो प्रतिष्ठामा कतै आँच आएको महसुस हुँदासमेत मानिसले आत्महत्याको निर्णयमा पुग्ने गरेको जानकारी दिए ।

पछिल्लो समय राजनीतिक, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्ध विच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या तथा छिट्टै आवेशमा आउने कारण मानिसले आत्महत्या रोज्ने गरेको देखिएको उनले जनाए ।
‘मनोवैज्ञानिक तथा सामाजिक कारण नै आत्महत्याका प्रमुख दुई कारण हुन्, यसमा राजनीतिक कारण, आर्थिक अभाव, पारिवारिक खटपट तथा सम्बन्ध विच्छेद, बढी मादक पदार्थ सेवन, बेरोजगारी समस्या, तथा छिटै आवेशमा आउने कारण पर्छन्,’ शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. ओझाले राजधानीसँग भने ।

प्रहरीको तथ्याङ्कले आफैँले आफैँलाई आगो लगाएर समेत आत्महत्या गर्ने गरिएको देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा २४ जना, त्यसपछिको वर्षमा १५ जना र गत आर्थिक वर्षमा २४ जनाले आफैले आफैँलाई आगो लगाएर आत्महत्या गरेका हुन् ।
यस्तै, आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म हाम फालेर १६९ जनाले आत्महत्या गरेका छन् । यसै गरी, आफैले आफैँलाई करेन्ट लाएर तीन वर्षमा नौ जना, हातहतियार तथा औजार प्रयोग गरी ३९ जना, पानीमा हाम फालेर तथा डुबेर ७५ जना र विस्फोटक पदार्थ प्रयोग गरी १ जनाले आत्महत्या गरेको प्रहरीको विगत तीन वर्षको तथ्याङ्कले देखाएको हो ।

भ्रष्टाचार मुद्दा खेपेकाहरू पनि आत्महत्याको बाटोमा

भ्रष्टाचारको आरोपमा मुद्दा खेपेकाहरूले पनि आत्महत्याको बाटो रोज्न थालेका छन् । प्रहरीका अनुसार पछिल्ला दिनमा अख्तियार तथा अन्य विभिन्न निकायबाट भ्रष्टाचारको आरोप खेपेका ६ जना कर्मचारीले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा अकुत सम्पत्ति छानबिनमा परेका पूर्वसचिव दिनेश चन्द प्याकुरेल र नायव सुब्बा केदारनाथ ढुङ्गाना छन् ।
३३ किलो सुन प्रकरणमा मुछिएका प्रेमलाल चौधरी र सानु बन लोडरले पनि आत्महत्या गरेका छन् । त्यस्तै, त्रिवि सेवा आयोगका वरिष्ठ अधिकृत रामबहादुर पाण्डे तथा ललिता निवास जग्गा प्रकरणमा मुछिएका नासुद्वय युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्यले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । याे समाचार आजकाे राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्