Logo

नेपालले छरछिमेकको घटनाबाट पाठ सिक्नुपर्छ : नेता रावल



Spread the love

२८ साउन, काठमाडौँ l छिमेकी मुलुक र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने नेकपाका नेता भीम रावलले बताएका छन् ।

हालै छिमेकी देश भारतको जम्मु र कश्मीरमा भएको घटनातर्फ सङ्केत गर्दै आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै नेता रावलले छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् ।

उनले थपे, ‘नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक छ ।’

शक्ति राष्ट्रहरूले समेत राष्ट्रिय स्वाभिमानलाई महत्त्व दिइरहेको अवस्थामा अस्थिर राजनीति र द्वन्द्वको अवस्थाबाट नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले चलाख भई आफ्नो हितको रक्षा गर्नुपर्ने नेता रावलको भनाइ रहेको छ ।

नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले समेत अनुमति नदिएको नेता रावलले बताए l प्राकृतिक प्रकोपको सामना गर्ने उद्देश्यमा सीमित तालिम र अनुभव आदान प्रदान गर्न सकिने भएता पनि अधिकांश सङ्ख्यामा सेनालाई संलग्न गराएर सैन्य अभ्यासमा नेपाल सहभागी हुन न हुने नेता रावलले बताए l

नेता रावलले देशलाई राणा शासनले थोपरेको गलत सम्झौताबाट मुक्त गर्नुपर्ने भन्दै गोर्खा भर्ती केन्द्र पनि बन्द गर्नु पर्ने बताएका छन् l सरकारले देशमाथि थोपरिएका असमान र अपमानजनक सन्धिबाट मुक्त गर्न कूटनीतिक र राजनीतिक कदम चाल्नुपर्ने नेता रावलले बताए l

उनले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कर र भन्सारको महसुल सङ्कलन जस्ता संवेदनशील तथ्याङ्कको अभिलेख विदेशी सर्भरमा राख्न नहुने पनि बताए ।

उनले भने, ‘त्यस्तो नेपालमा, नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गर्नुपर्छ l’ कुनै पनि हालतमा माथिल्लो कर्णालीको सम्झौता गर्न नहुने नेता रावलले बताए l

उनले भने, ‘सम्झौताका प्रावधान विपरीत आयोजनाको निर्माणमा ढिलो गर्ने अनुचित अनुमति दिएर देशलाई क्षति पुर्‍याउने मौका कसैलाई पनि दिनुहुन्न, माथिल्लो कर्णालीको हकमा त्यस्तो भइरहेको छ । अब कुनै हालतमा नवीकरण गर्नुहुन्न ।’

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिनको बाँकी काम अविलम्ब पूरा गरी द्वन्द्वकालीन अवस्थाको कुनै पनि रूप बाँकी नराख्न पनि सांसद रावलले आग्रह गरे ।

नेकपाको सामु ऐतिहासिक अवसर रहेको बताउँदै सो समयलाई पार्टीको पूर्व घोषित नीति र कार्यक्रमअनुसार मुलुक र जनताको हितका लागि अधिकतम उपयोग गर्नुपर्ने पनि नेता रावलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्