Logo

आज बकर इद मनाईदै



Spread the love

२७ साउन, काठमाडौं । बकर इदका अवसरमा मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी शुद्ध भएर मस्जिद तथा इदगाहमा नमाज पाठ गरेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । आज बिहानै नमाज पढिसकेपछि मुस्लिमहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरेका थिए ।

यसै अवसरमा आज बिहानै दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको थियो । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी कुर्वान ९बलि० दिने तयारी भइरहेको बताउनुभयो । खसी, राँगो, भेडालगायत जनावरलाई बलि दिने मुस्लिम परम्परा छ ।“बलि दिएको जनावरको मासुलाई तीन भाग लगाई एक भाग गरीब एवं दीनदुःखीलाई बाँड्ने दोस्रो भाग पाहुनालाई दिने र तेस्रो एक भाग परिवारले भोजन गर्ने परम्परा छ”, उहाँले भन्नुभयो ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

इब्राहिमलाई तेरो नजीकको प्यारो चीज कुर्वानी दे भन्ने अल्लाहको आदेश भएपछि उनले आफ्नै छोरालाई कुवानी दिन तयार भएपछि अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभएको कथा मुस्लिम समुदायमा प्रचलित छ । इद सोमबारदेखि बुधबारसम्म तीन दिन मनाइन्छ । बुधबार सूर्यास्तअघि नै मुस्लिम धर्मावलम्बीले बलि दिइसक्नुुपर्ने धार्मिक मान्यता छ । यो पर्वलाई इदुल जोहाका नामले समेत चिनिन्छ ।यस पर्वका अवसरमा प्रदेश नं २ र ५ सरकारले सार्वजनिक बिदा दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्