Logo

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो



Spread the love

२५ साउन, याङ्गुन। अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो ।

“आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई शनिबार बताउनुभयो ।

लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो । पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।

स्थानीय समय अनुसार शुक्रबार विहान ७ बजेतिर पहिरो भएको थियो । पहिरो लगत्तै स्थानीय बासिन्दा र अन्य क्षेत्रबाट आएका उद्धारकर्मीहरुले खोजी तथा उद्धार कार्य गरिरहेका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढीले पाउङसँगै मावलाम्यीने, मुडोन, थान्ब्युजायात, क्यैकमाराव, ये लगायतका ठाउँमा बढी असर परेको छ । ती क्षेत्रका कतिपय विद्यालयहरु केही दिनलाई बन्द गरिएको छ ।

देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दशौँ हजार आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ । पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाए प्यार कोने गाउँको १६ ओटा घर बगाएको अधिकारीहरुले जनाएका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस्