Logo

हत्या आरोपी पक्राउ



Spread the love

२४ साउन, काठमाडाैँ – हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१९ इनाटोलका नाम थर नखुलेका जङ्गे भन्ने पुरुष व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा उदयपुरको कटारी घर भई काठमाडौँको इनाटोल बस्ने २४ वर्षीय विनोद खड्का पक्राउ परेको महाशाखाले जनाएको छ । मृतक र खड्का सँगसँगै बस्दै आएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरु बिहीबार राति सँगै रहेकाबेला भएको आपसी विवादले घटना घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए । खड्काले ईँट्टा तथा ढुङ्गाले प्रहार गरी उनको हत्या गरेको खुल्न आएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।

यसैबीच उपत्यकाभित्र भएका चोरी अपराधमा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा भैँसेपाटी बस्ने शिवराम आले मगरको स्कुटरको डिक्कीमा रहेको रु दुई लाख नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेको थापाले जानकारी दिए । पक्राउ पर्नेमा बाँके घर भई हाल भैँसेपाटी बस्ने मोहन खत्री रहेका छन् ।

चोरी गरेको रकममध्ये रु ८९ हजारसहित उनलाई आज पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्