Logo

सुमार्गीको सम्पत्ति शुद्धीकरणको फाइल सर्वाेच्चले मगायो



Spread the love

२४, साउन काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजेय सुमार्गीसंग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानको फाइल झिकाएको छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज कुमार शर्माको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरणको विषयमा उनीमाथि गरिएको फाइल विभागबाट मगाएको हो।

सुमार्गीले नेपाल स्याटलाइट टेलिकममा लगानी गर्ने उद्देश्य देखाएर विदेशबाट ल्याएको करिब ४ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धीकरणको विषयमा गरेको अनुसन्धानको फाइल मगाएको हो। नेपाल राष्ट्र बैङ्कले रोक्का गरी राखेको खाताको रकमबारे विभागको अनुसन्धानको फाइल मगाइएको हो।

सो विषयमा सर्वाेच्च अदालतमा दुई वर्षदेखि मुद्दा विचाराधीन छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि नेपाल राष्ट्र बैङ्कले सुमार्गीको रकम रोक्का राखेको छ। आफ्नो खाताको रकम रोक्का भएपछि २०७४ को माघ २१ मा सुमार्गी सर्वाेच्च अदालमा पुगेका थिए।

सुमार्गीले वैदेशिक लगानी ल्याउँदा राष्ट्र बैङ्क र सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी रूपमा रोक्का राखेको भन्दै नेपाल स्याटलाइट टेलिकमका तर्फबाट ती निकायले आफूलाई हैरानी दिएको दाबीसहित रिट दर्ता गराएका थिए।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले माघ २३ गते सुमार्गीले चाहेको बेला रकम निकाल्न पाउने गरी अन्तरिम आदेश जारी गरेको थियो। रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न पाउने उक्त आदेशमा उल्लेख थियो। पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।

लगानीका लागि भन्दै सुमार्गीले विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शङ्कास्पद देखिएको आधारमा नेपाल राष्ट्र बैङ्कले सुमार्गीको उक्त रकम रोक्का राखेको थियो।

सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैङ्कको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो। उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो भने सोही पत्रका आधारमा सुमार्गीले ल्याउन खोजेको सो रकम रोक्का रहेको थियो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्