Logo

नेकपाको विदेश नीति, असमान सन्धि पुनरावलोकन



Spread the love

काठमाडौँ, साउन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असमान सन्धि–सम्झौता पुनरावलोकन गर्दै पारस्परिक लाभ, समानता र राष्ट्रिय हित अनुरूप नयाँ सन्धि–सम्झौता गर्नुपर्ने आधिकारिक धारणा दस्तावेजमार्फत सार्वजनिक गरेको छ ।

नेपालले सुगौली सन्धिपछि राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गरिरहेको दाबी गर्दै नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावबारे सजगता अपनाउनुपर्ने र युद्ध, आणविक अस्त्र तथा हातहतियारको होडबाजीको विरोध गर्नुपर्नेमा जोड दिएको छ ।
दुई विशाल छिमेकी देशको बजारको उपयोग, विकास र प्रगतिबाट लाभ लिन सक्ने अवसर रहेको दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उनीहरूको बजार उपयोग गर्दा राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेत रहनुपर्नेमा पनि जोड दिइएको छ । नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा नेपालको आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउने कुरामा जोड दिएको छ ।

दस्तावेजमा भनिएको छ, “संविधान निर्माण र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानका विषयमा नेपाली जनतामा अभूतपूर्व जागरण, सजगता र एकता प्रकट भएको छ । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र नेपालको राजनीतिलाई समेत आफ्नो प्रभावमा निरन्तर राखिरहने वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको व्यवहारले गर्दा नेपालले नवउपनिवेशवादी नीति र व्यवहार विरुद्ध समेत निरन्तर सङ्घर्ष गरिरहनु परेको छ ।”
आन्तरिक विषयको स्वतन्त्र ढङ्गले समाधान गर्ने क्रममा बेलाबेलामा प्रकट हुने बाह्य हस्तक्षेपलाई प्रतिरोध गर्नुपर्ने नेकपाको दस्तावेजले भनेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी) बिच एकीकरण भई बनेको नेकपाले पार्टीका लागि तयार पारेको ६७ पृष्ठको मूल दस्तावेजमा नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील रहेको हुनाले रोजगारीका लागि विदेशी सुरक्षा निकायमा भर्ती हुने व्यवस्थालाई विस्थापन गर्नेतर्फ ध्यान दिइनुपर्ने उल्लेख गरेको छ ।

दस्तावेजमा भनिएको छ, “पश्चिमा शक्तिराष्ट्रहरूले अरू मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्ने कदम चालेको छ ।
यसबाट मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशङ्कासमेत गर्न थालिएको छ ।” विभिन्न पुँजीवादी राष्ट्रमा संरक्षणवादका पक्ष पोषक, आप्रवासनविरोधी र जातीय अहङ्कारवादका पक्षधर दक्षिणपन्थी अतिवादीको उदयलाई नेकपाले गम्भीर चुनौतीका रूपमा लिएको छ ।
केही बहुराष्ट्रिय कम्पनीका हातमा विश्वको अधिकांश सम्पत्ति थुप्रिँदै जानु, विश्वव्यापी रूपमा गरिबीको समस्या बढ्दै जानु र बेरोजगारी विकराल बन्नुलाई नेकपाले सबैभन्दा ठुलो चुनौतीको ठहर गरेको छ । नेकपाले आफ्नो दस्तावेजमा उत्पादनका साधन र स्रोतमा उत्पादक शक्तिको पहुँच झनै कमजोर बनेको विश्लेषण गर्दै एकाधिकार पुँजीपति वर्गको हातमा केन्द्रित रहेको उल्लेख गरेको छ ।

प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरूको सिर्जना गराउने र आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकको राष्ट्रियतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको नेकपाले दाबी गरेको छ । दस्तावेजमा शक्तिराष्ट्रहरू आणविक अस्त्रमाथि नियन्त्रण कायम गर्दै हतियार व्यापारका निम्ति विश्वव्यापी प्रभुत्व कायम गरिरहेका छन् । इराक, अफगानिस्तान, सिरियालगायत अधिकांश खाडी मुलुकमा युद्धको स्थिति कायम छ भनी नेकपाले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।
एसिया आर्थिक विकासको केन्द्र बन्दै एक ध्रुवीय शक्तिलाई चुनौती दिँदै विश्व बहुध्रुवीय दिशातर्फ अग्रसर भइरहेको नेकपाले दाबी गरेको छ । नेकपाले देशको भूराजनीतिक सन्दर्भमा विकसित भइरहेको घटनाक्रमलाई पनि नजिकबाट नियालिरहेको छ ।

तत्कालीन एमालेका विदेश विभागका सचिव रहिसक्नु भएका नेकपाका नेता यादवचन्द्र शर्माले नेपालको भौगोलिक बनोटका कारण वास्तवमा यहाँको भूराजनीतिक संवेदनशील रहेको बताउनुभयो । पार्टीले आफ्नो मूल दस्तावेजले पार्टीको तल्लो तहसम्म अन्तर्राष्ट्रिय सम्बन्धबारेमा स्पष्ट गर्ने उहाँको दाबी छ ।

यो समाचार आजको गोरखापत्रमा सुरेशकुमार यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्