Logo

मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् : मन्त्री मगर



Spread the love

२२ साउन, काठमाडौँ l मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा सम्पन्न हुने खानेपानीमन्त्री बिना मगरले बताएकी छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै मन्त्री मगरले भनिन्, “यहाँ बोल्ने माननीयज्यूहरूले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नु भो । यो सरकार अघिल्ला सरकारजस्तो होइन । तपाईँहरू सबै ढुक्क हुनुस्, अब २४ औँ मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौँवासीले खान पाउँछन् ।”

मेलम्ची खानेपानीका विषयमा स्वयंले सांसदहरूबाट पटक पटक प्रश्न सुनेको र आफूले पनि बारम्बारता जवाफ दिइसकेको बताउँदै मन्त्री मगरले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौँ आउने प्रतिबद्धता दोहोर्याइन् ।

मन्त्री मगरले नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिने समेत बताइन् । उनले भनिन, “सीएमसी कम्पनी आर्थिक रूपमा टाट पल्टिन सरकारको र मन्त्रीको कुनै भूमिका छैन । सिएमसी टाट पल्टिएकाले नेपालमा मात्रै होइन अरू देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरूले आत्मसात् गर्नुपर्‍यो ।”

मन्त्री मगरले नेपालको सबै क्षेत्रमा खानेपानी वितरण, स्रोत संरक्षण र पहिचान र व्यवस्थापन गर्न मन्त्रालयले खानेपानी विधेयक तयार गरिसकेकाले खानेपानी वितरण र आधारभूत खानेपानीको परिपूर्ति तथा पानीको निर्यात गर्ने लक्ष्य चाँडै नै प्राप्त गर्ने बताइन् ।

उनले भनिन, “हिमाल, पहाड र तराईलाई केन्द्रित गरेर र वर्षाको सङ्कलन गरेर पानीको वितरणको तयारीमा छौँ । सस्ता खालका केही आयोजना सञ्चालन गरेर खानेपानी पूर्तिको योजना बनाएका छौँ । सम्भव भएका स्थानमा डिप बोरिङ गर्नेछौँ । धेरै आयोजना निर्माणाधीन छन् । देशभर ९२ प्रतिशत खानेपानी पुर्‍याउने प्रतिवद्धतामा केन्द्रित रही आधारभूत खानेपानीको परिपूर्ति र निर्यात गर्ने लक्ष्यमा छौँ, जथाभावी डोजर चलाएका कारण पानीका मुहान सुकेका छन् । डोजरको जथाभावी सञ्चालन रोक्न पहल गरेका छौँ । चुरे–भावर क्षेत्र संरक्षणमा सबै जुट्नुपर्छ । सबै निकायले पानीको मुहान संरक्षणका काम गर्नुपर्छ ।”

उपत्यकाका विभिन्न ठाउँहरूमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् ।

उनले भनिन, “उपत्यकामा खानेपानीका धेरै स्रोतहरू सुकेका छन् । हाम्रो मन्त्रालयको एउटा निकायले डेढ वर्ष लगाएर खानेपानीको सन्दर्भमा अध्ययन गरेको छ । ढुङ्गेधाराको पानी परीक्षण र स्रोत पहिचान र पुर्खाले बनाएका ढुङ्गेधारा र पोखरीको अध्ययन गरेको छ । कतिपय पोखरीमा घर बनाएको भेटिएको छ l”

संसद्मा मन्त्री मगरले जमिनमा पानीको रिचार्ज आवश्यक रहेकाले यसपालि सानै भए पनि जमिन रिचार्जको अध्ययन गरेको जानकारी गराउँदै काठमाडौँलाई फोकस गरेर ढुङ्गेधाारा र पोखरीको कनेक्सन लागू गर्ने काम यही वर्षाबाट सुरु गरिने बताएकी छन् l

मन्त्री मगरले खानेपानीको परिपूर्तिका साथै डिपबोरिङ र जमिनबाट निकालिने पानीको आर्सेनिक लगायतले पारेको समस्याले उत्पन्न भएका समस्या समाधान गर्न पनि मन्त्रालयले काम आरम्भ गरेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्