Logo

श्रममन्त्री विष्टले गरे सचिवसँग कार्यसम्पादन सम्झौता



Spread the love

२२ साउन, काठमाडौँ l मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्य सम्पादन सम्झौता गरेका छन् ।

सचिव दाहाल र मन्त्री विष्टले मन्त्रालयमा आज आयोजित कार्यक्रममा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग सचिव दहलाले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

यसै गरी सहसचिवहरूले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समय सीमा भित्रै प्राप्त गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्य तालिका सहितको कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् । मन्त्री विष्टले उक्त कार्यक्रममा कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समय सीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्‍याउने बताए l

सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष प्राप्त गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबल सहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए । आउँदो आइतबारसम्म मन्त्रालयले सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्