Logo

भिसिटिएस प्रणाली ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् : भरत शाह



Spread the love

२२ साउन, काठमाडौँ l सङ्घीय संसद्‌को प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) प्रणाली साना व्यापारीको हकमा लागू गर्न नहुने मन्तव्य राखेका छन् l

प्रतिनिधिसभाको आज बसेको बैठकमा सहभागिता जनाउँदै सभापति शाहले हरेक स्थानमा इन्टरनेट सेवा पुग्न नसकेको अवस्थामा भिसिटिएस प्रणाली अव्यवहारिक रहेको मन्तव्य राखेका हुन् ।

उनले भने, ‘के नेपालका सबै ठाउँमा इन्टरनेट सुविधा पुगेको छ? प्रधानमन्त्री कार्यालयबाट त्यसको अनुगमन गर्नका लागि त गाउँ-गाउँमा इन्टरनेट पहुँच हुन पर्‍यो नि । गाउँ-गाउँमा इन्टरनेट नभएका कारण त्यहाँ सामान लोड गर्न गाह्रो भएको छ l’

ठुला व्यापारीलाई भिसिटिएस प्रणाली लागू गर्न सकिएता पनि साना व्यापारी मर्कामा परेको सभापति शाहको भनाइ थियो । उनले भने, ‘ठुला व्यापारीलाई लगाउँदा त समस्या हुँदैन । तर, गाउँ-गाउँका साना व्यापारीलाई यस्तो व्यवस्था लागू हुनुहुँदैन। ठुला व्यापारीलाई लगाओस्, तर साना व्यापारीलाई नलगाओस् l’

ढुवानीमा आयकर लगाउने विषयमा पनि पुनर्विचार गर्नुपर्ने शाहले बताएका छन् l उनले भने, ‘आयकर आम्दानीमा लाग्ने हो । तर, ढुवानीमा पनि अग्रिम २ प्रतिशत आयकर लगाउने भनिएको छ । बाहिरबाट आउने सबै वस्तुमा अग्रिम २ प्रतिशत आयकर लिइएको छ । जसकारण वस्तु महँगो भएका छन् l’

प्रतिक्रिया दिनुहोस्