Logo

सरकार पाँच वर्षसम्म परिवर्तन हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा



Spread the love

२१ साउन, काठमाडौँ l सरकार पाँच वर्षसम्म नबदलिने सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् l

जनकपुरमा आज पत्रकारहरूसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकार प्रगति, अग्रगति र सामाजिक न्यायलाई विशेष मुद्दा बनाइसकेको कारण अबको पाँच वर्षसम्म सरकारले विकासलाई मुख्य केन्द्र बनाएर अघि बढ्ने दाबी गरे ।

संचारमन्त्री बास्कोटाले सङ्घ, प्रदेश र स्थानीय सरकारले चुनावमा गरेका सम्पूर्ण बचन पूरा गर्नुपर्ने बताउँदै प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र बसेर काम गरे सबै क्षेत्रको विकास तीव्र ढङ्गले हुने बताए ।

मन्त्री बाँस्कोटाले संविधान संशोधनका बारेमा औचित्य पुष्टि भए संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले भने, ‘संविधान कुनै गीता, रामायण वा कुनै धर्म ग्रन्थ नरहेकोले यी कुराहरू पुष्टि भए सरकार जति बेला पनि संविधान संशोधनका लागि तयार हुन्छ l’

सरकारलाई जबसम्म संविधान संशोधन गर्नुपर्ने आवश्यकता लाग्दैन, तबसम्म संविधान संशोधन नहुने मन्त्री बास्कोटाले स्पष्ट पारे । बजेटको समयमै सदुपयोग गर्ने वाध्यात्मक व्यवस्था रहेकोले यस वर्षबाट विकास निर्माणका कार्यहरूले गति लिने विश्वास मन्त्री बास्कोटाले व्यक्त गरेका छन् l

नेपाल सरकारका सबै मन्त्रीहरूले कार्य सम्पादनका लागि सम्झौता गरेकोले ती सबै मन्त्रीहरूले गर्ने कार्यको मूल्याङ्कन नेपाली जनताले गर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो l

उनले सङ्घ सरकारले प्रदेश नम्बर २ को विकासका लागि सबैभन्दा धेरै परियोजनाहरू सञ्चालनमा ल्याएको बताएका छन् । मन्त्री बाँस्कोटाले भिनै प्रसङ्गमा सञ्चारकर्मीलाई पूर्वाग्रही भएर कलम नचलाउन आग्रह गरेका छन् । उनले भने, ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस् । तर, तथ्यपरक हिसाबले मात्रै समाचार सम्प्रेषण गर्नुस् l’

प्रतिक्रिया दिनुहोस्