Logo

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन राजस्वलाई अर्थमन्त्री खतिवडाको निर्देशन



Spread the love

१९ साउन, काठमाडौँ l सम्पूर्ण आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई अर्थमन्त्री डा.युवराज खतिवडाले निर्देशन दिएका छन् ।

उनले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई टिकाउ र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याउनै पर्ने पनि स्पष्ट पारे ।

आजबाट ललितपुरमा आरम्भ भएको व्यवस्थापन गोष्ठीको सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व सङ्कलन गरी निजी क्षेत्र लगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि दोहोर्‍याएका छन् ।

उनले भने, ‘हाम्रो उद्देश्य व्यवसाय गर्नेहरुबीचमा स्वच्छ, पारदर्शी प्रतिस्पर्धा रहोस्, मुलुकमा व्यावसायिक वातावरण बनोस्, लगानीको वातावरण बनोस् र स्वच्छ कर प्रशासनको माध्यामबाट राजस्व सङ्कलन गरेर निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको व्यवस्था र विकास निर्माणको कामलाई अघि बढाउन सकियोस् ।’

उनले राजस्व सङ्कलन ३ वर्षयता सन्तोष गर्ने स्थानमा रहेता पनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको स्पष्ट पर्दै सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्