Logo

इतिहासलाई हेरेर होइन,नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्नुपर्छ : नेता भुसाल



Spread the love

१८ साउन, काठमाडौँ l नेकपाभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा सञ्चालन गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा सहभागिता जनाउँदै नेता भुसालले यस्तो बताएका हुन् l

नेता भुसालले इतिहासलाई हेरेर होइन नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा बनाउने बेला आएको भन्दै अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ l अब अलमल गरेर बस्ने होइन ।”

पार्टीको सपना चुनाव जित्ने र सत्तामा पुग्ने मात्र भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने बताउँदै उनले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “इतिहासमा यो गर्‍यो ऊ गर्‍यो भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ l त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन ।”

नेता भुसालले अहिले नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली जनताले लेकमा पुत्याएको व्यङ्ग्य गर्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गरे ।

उनले भने, “जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तै मात्र हो, अरू ठुलो समस्या छैन l “

१५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुङ्ग्याउन १५ महिना लगाउने काम गलत भएको नेता भुसालले बताएका छन् । उनले भने, “आखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महिना लगायौँ, यसले राम्रो सन्देश जाँदैन, यस्ताखालका कमीकमजोरी अब हुन दिनु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्