Logo

मृगौला तस्करीमा प्रहरीको संलग्नता



Spread the love

१८ साउन, काठमाडौँ । प्रहरीको संलग्नतामा मृगौला तस्करी हुने गरेको खबर बाहिर आएको छ । प्रहरीकै चाजोपाजोमा काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा भारतमा लगेर मृगौला निकाल्न लागिएको बेला प्रहरीले उद्धार गरेपछी रहस्य बाहिर आएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रमुख फडिन्द्र प्रसाईँले घटनामा संलग्नलाई पक्राउ गरिएको बताए । उनका अनुसार घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरी गण नं १ मा कार्यरत प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवलदार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुलीलाई पक्राउ गरिएको छ ।

‘अझै अनुसन्धान जारी भएकाले हामीले घटनालाई गोप्य राखेका हौँ’, प्रसाईंले भने ‘तीन दिनअघि मानव बेचबिखन तथा आसोरपसार कसुरमा जिल्ला अदालत, काठमाडौँबाट म्याद थप गरिसकेका छौँ । घटनामा सई थपलियाको संलग्नता देखिए लगत्तै काठमाडौँ प्रहरी परिसर, टेकुले उनलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । भर्खरै २४ वर्ष पुगेका कलिलो उमेरका खड्का सामान्य परिवारका हुन् । पछिल्लो समय चाबहिल बस्दै आएका उनी मनमैजुको खाजा घरमा काम गर्थे ।

पक्राउ परेका व्यक्तिको भनाइ अनुसार खड्काले जे गरेर भए पनि बाइक चढ्ने बताउँथे । त्यो थाहा पाएपछि थपलियाले मिर्गौला विक्री गर्न अफर गरेका थिए । ‘बाइक किन्दिन्छु भनेको थियो’, उद्धार गरिएका खड्का भन्छन्, ‘त्यसपछि केही नसोची म एउटा मिर्गौला दिन राजी भएँ ।’

खड्काको सहमतिपछि अनमोल क्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरमा लगेर रगत परीक्षण गरिएको थियो । अनुसन्धानमा आबद्ध एक कनिष्ठ अधिकृतले अनलाइनखबसँग भने, ‘त्यहाँ उनको मिर्गौला झिक्न मिल्छ कि मिल्दैन भन्ने कुरा यकिन गरिएको देखिन्छ ।’

क्लिनिकमा उपचारपछि लगाइएको सुईका कारण रिँगटा लागेका खड्कालाई याद छ । त्यसपछि एकै पटक सुनौली नाका पुग्दा मात्र होस खुलेको उनी बताउँछन् ।

‘सुनौलीमा पुगेपछि घर परिवारसँग सम्पर्क गराइदिन आग्रह गरेँ’, उनी भन्छन्, ‘तर उनीहरूले फोन गरिस् भने मारेर फालिदिने धम्की दिए ।’

बल्ला खड्का झस्किए । योबिच खड्का हराएको केही दिन भइसकेको थियो । घर परिवारले खोजी सुरु गर्‍यो । त्यसक्रममा प्रहरीसम्म पुगेको खड्का हराएको सूचनालाई पछ्याउँदै जाँदा अनुसन्धान अधिकृत मिर्गौला तस्करीको जालोसम्म पुगेका थिए ।

एक अधिकृतका अनुसार भारतमा मिर्गौला ट्रान्सप्लान्टका लागि पूर्वतयारी गर्दै गर्दा खड्काको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्