Logo

मलाई कर्मचारीहरुको कामको परिणाम चाहिन्छ : मन्त्री पुन



Spread the love

१७ साउन, काठमाडौँ l ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कर्मचारीहरूको कामको परिणामको खोजीमा रहेको बताएका छन् l

कर्मचारीले परिणाम दिन सक्दैनन् भने विकल्प खोज्ने सङ्केत पनि मन्त्री पुनले दिए l उनले भने, ‘चिनेका साथी भाइ हुन्, काम गरिहाल्छन् नि भनेर मैले भन्‍ने अवस्था छैन, मलाई परिणाम चाहिएको छ l परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सहभागिता जनाउँदै मन्त्री पुनले अधिकृतभन्दा माथिका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराएता पनि नपराएता पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।

पत्रमा निर्देशन दिने र प्रगति देखाउने प्रक्रियालाई निरुत्साहित गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर कामको प्रगति बुझ्न निर्देशन दिए ।

मन्त्री पुनले परिणाममुखी काम गर्न सम्बन्धित कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराउँदै सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको पनि दाबी गरे l

उनले भने, ‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तपाई‌हरुले तालिका बनाएर नै काम गर्नुपर्‍यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु सबैको दायित्व हो l काम नगर्ने हो भने पद ओगटेर मात्र बस्‍न कसैलाई पनि छुट छैन । आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्‍ने हुंँदैन । सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्‍ने छैन ।’

प्रतिक्रिया दिनुहोस्