स्पेनिस ला लिगाका शीर्ष टोलीहरु बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा अप्रत्यासित पराजय ब्यहोरेका छन् । ला लिगामा एकै दिन दुवै टोली पराजित भएको सन् २०१५ पछि पहिलो पटक हो ।गएराति भएको खेलमा रियल मड्रिडले सेभियासँग ३–० को पराजय ब्यहोर्दा लिग तालिकाको अन्तिममा रहेको लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले अग्रता लिएर पनि जोगाउन सकेन ।आन्द्रे शिल्भाले खेलको १७औं र २१औं मिनेटमा गोल गरी घरेलु टोली सेभियालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर विसम बेन याडरले उत्कृष्ट भली गोलमार्फत टोलीलाई ३–० को अवस्थामा पुर्याए । याडरको यो सिजनको छैटौं गोल हो ।दोस्रो हाफमा रियलले खेलमा फर्कने प्रयास गरेको थियो । तर, सेभियाको रक्षापंक्तिले उसको प्रयास विफल पारिदियो । हालैमात्र फिफा वर्षखेलाडीको अवार्ड जितेका क्रोएशियाली प्लेमेकर लुका मोड्रिचले दोस्रो हाफमा गोल गरेको थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गरिदिए ।
यता बार्सिलोनाले सुरुआती अग्रता लिएर पनि जोगाउन नसक्दा लिग तालिकाको पुछारमा रहेको लेगानेसलाई सिजनको पहिलो जितको अवसर दियो । फिलिप काउटिन्होले मेस्सीको पासमा खेलको १२औं मिनेटमै गोल गरेका थिए ।
तर, लेगानेसका लागि नाभिल एल जार र ओस्कार रोड्रिग्वेजले ८० सेकेण्डको अन्तरमा दुई गोल गरेपछि मेस्सी प्रेरित बार्सिलोनाले सिजनमा पहिलो हार ब्यहर्याे । अर्नेस्टो भाल्भर्डेले गत सिजनमा टिम सम्हालेपछि लिगमा बार्सिलोनाको यो दोस्रो पराजय हो ।
पराजय पछि पनि बार्सिलोना र रियल मड्रिड समान ६ खेलबाट समान १३ अंकसहित लिगको शीर्ष र दोस्रो स्थानमा छन् । सेभिया १० अंकसहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ भने लेगानेस पनि महत्वपूर्ण तीन अंक जोडेर लिगको १७औं स्थानमा उक्लिएको छ ।