भक्तपुर, २६ जेजेठ २६ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज १५ औं हप्तामा १६ टन फोहोर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको सिमानामा रहेको थिमि–दधिकोट पुल क्षेत्रमा सरसफाइ गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहोर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनु पर्नेमा जोड दिँदै उहाँले अभियन्ताले सफा गरिरहने माथिकाले फोहोर फालिरहने प्रवृत्तिको अब स्थानीयवासीले नै अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
हनुमन्ते सफाइ अभियानमा आज प्रमुख अतिथिका रुपमा आउनु भएका मनोज गजुरेलले शुरुकै दिनदेखि हनुमन्ते सफाइमा आफ्नो सक्रिय सहभागिता रहेको बताउँदै भक्तपुरका चारवटै नगरपालिकाको सक्रिय सहभागिता र प्रतिबद्धताले मात्रै नदीलाई पूर्णरुपमा सफाइ गर्न सकिने बताउनुभयो । अभियानलाई सार्थकता दिन सबै क्षेत्रमा व्यक्ति लाग्नुपर्ने र स्थानीयवासीको अभियानमा सक्रिय सहभागिता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघ संस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म २१६ टन फाहोर संकलन भएको र आज अभियानमा ५७० जनाको प्रत्यक्ष सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । (रासस)