Logo

सार्वजनिक बसमा सिटभरि यात्रु बोक्न पाइने, अब पुरानै भाडा !



Spread the love

२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

आन्तरिक हवाई उडानमा पनि सोही निर्णय गरेकोमा विमान कम्पनीहरुले मानेका थिएनन्। विमानमा पूर्ण सिटमा यात्रु ओसारपोसार भइरहेको छ। अब सार्वजनिक सवारीको भाडा ५० प्रतिशत बढी असुल्न नपाइने भएको छ। लकडाउन अघि कायम रहेको पुरानो भाडा दरमै यात्रु बोक्न पर्ने छ।

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने निर्णयको यातायात व्यवसायीहरुले विरोध गर्दै आएका थिए । सरकारले आन्तरिक हवाई उडानमा समेत सुरुवातमा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने भने पनि वायु सेवा संचालकहरुले उडान नै सुरु नगरेपछि २ दिनमै निर्णय उल्टाई सिट क्षमताअनुसार यात्रु राखेर उडान भर्न पाइने भनिएको थियो । 

ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्। यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट बुकिङ पनि खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्