Logo

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापनाको तयारी



Spread the love

२६ असोज, काठमाडौं । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई ५० लाख रुपैयाँका दरले पाँच करोड बजेटसमेत विनियोजन गरि पठाइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए । ती अस्पतालमा एक करोडका दरले १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ ।

अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड रुपियाँ पठाइसकेको छ ।

स्वास्थ्य सेवाका गुणस्तर वृद्धि गर्न सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड पुर्याउन सबै प्रदेशमा अभिमुखीकरण तालीम दिइसकेको छ । सबै सङ्घीय अस्पतालमा मापदण्डअनुसारको सेवा भए नभएको अनुगमन गरिने भएको छ ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्नका लागि रोग नियन्त्रण केन्द्र स्थापनाको प्रक्रियासमेत अगाडि बढाइएको डा गौतमले बताए। रोगको अध्ययनअनुसन्धान, निगरानी, रोकथाम, नियन्त्रण, उन्मूलन तथा नियमन प्रभावकारी रुपमा कार्यान्वयन गर्न रोग नियन्त्रण केन्द्र नेपाल स्थापनाका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । उनले विधेयक तयार गरी चाँडै केन्द्र स्थापना गरिने बताए।

स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य संस्थाको वर्गीकरण, प्रमाणीकरण र प्रत्यायन गर्न नेपाल स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि अवधारणापत्रसमेत तयारी गरिसकिएको छ ।

औषधि, औजार र उपकरण, प्रविधिजन्य स्वास्थ्य सामग्री, प्रयोगशाला सामग्री, खाद्यान्न, सौन्दर्य सामग्रीको प्रभावकारी नियमन गर्न खाद्य तथा औषधि प्रशासन स्थापनाका लागि अवधारणापत्र तयार पारिएको छ ।

उनले सबै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भेको प्रारम्भिक कार्य गरिएको जानकरी दिए । उनका अनुसार पाँच, १० र १५ शैयाका आधारभूत अस्पताल, २५ र ५० शैयाका जिल्ला तथा प्रादेशिक अस्पताल, २०० शय्याका प्रादेशिक जनरल अस्पताल र सङ्घअन्तर्गतका अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्भे सकिएको छ ।

उनका अनुसार अब सबै अस्पतालमा वैज्ञानिक रुपमा पद सिर्जना गरी परिपूर्ति गरिने छ । यसै आर्थिक वर्षमा ३४६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब चार करोड विनियोजन गरी पठाइसकेको छ ।

यस्तै ५२ जिल्लाका साविकका जिल्ला अस्पताललाई ५० शैया बनाउनका लागि प्रतिशय्या एक लाखका दरले ८६५ शय्याका लागि आठ करोड ६६ लाख विनियोजन भइसकेको उनले बताए । यस्तै साविकका अञ्चल र उपक्षेत्रीय अस्पताललाई २०० शैया बनाउनका लागि ११ अस्पतालमा एक हजार ३५ शैया थप गर्न १० करोड ३५ लाखसमेत पठाइसकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्