कथाः सपना
मलाई लाग्छ, अघिल्लो दिन डुबेको घाम झन् चर्को तापले संसार उज्यालो पार्ने ध्याउन्नले उदाउँछ । त्यसैले त हरेक बिहानीले एउटा आशा लिएर आएको हुन्छ । नयाँ बिहानीसँगैको नयाँ उर्जा, नयाँ बिहानीसँगैको नयाँ आशा । नयाँ बिहानीसँगैको नयाँ फूलहरु अनि नयाँ बिहानी सँगैको नयाँ सुगन्ध पनि ।
यी चिज मन नपराउने बिरलै भेटिँदा हुन् । मलाई लाग्छ यी चिज मन नपराउनेहरु जाडोमा पनि घामलाई बादलले छेकेका रुचाउने मध्येमा पर्छन् । कहिलेकाहीँ ऊ त्यस्तै प्रतीत हुन्छ । उसको स्वभाव अन्तरमुखी र एकलकाँटे भए पनि नाम चाहिँ किन विनय राखेको होला ?
उसले बिहानीलाई आशामय कहिल्यै देखेन । चराको चिरबिर उसलाई कहिल्यै मन परेन । फूलले उसलाई कहिल्यै सुवास दिन जानेन । सायद उसले लिन जानेन कि !
घामले उसलाई आलस्य अनुभव गराउँथ्यो, अरु त्यसकै उर्जाले दिनभरी काम गरिरहन्थे ।
त्यसैले त बर्बराइरहन्थ्यो विनय – “के लागेको होला यो घाम, अनि के कराइरहेको होला यो चरो पनि । छोरो बल्ल शान्त भयो भन्यो, यो चरोलाइ कराइहाल्नु पर्ने ! कसैले शान्ति दिएनन् ।“
“किन जन्माउन परेको थियो त छोरो” – बुढी रिसाएर जवाफ फर्काउँथी ।
अनि बल्ल विनय चुप लागेर बस्थ्यो । बाटोमा हिँड्दा अलि खुस्केका जस्तो मनस्थिति भएका पल्ला घरे काकाले बजाइरहने रेडियो सुनेर पनि ऊ वाक्क भएको थियो । त्यही भएर कहिलेकाहीँ झगडै पर्थ्यो, विनयको काकासँग ।
सरकारी जागिरेदेखि विनय कहिल्यै खुशी हुन सकेको थिएन । भलै घुस भने आजसम्म विनयले चढाएको थिएन । उसलाई सरकारी कार्यालय माछा बजार समान लाग्थ्यो । मोलमोलाई भइरहने खालको । यो भएन, त्यो भएन । यसो गर्नुस्, उसो गर्नुस । आज हुँदैन, भोलि आउनुस् भन्ने जस्तो बचन सुनेरै ऊ आजित भैसकेको थियो । चराको चिरबिर मन नपर्नेलाइ त्यत्रो गन्थन कताको मन परोस् !
ब्यापारी त उसका आँखाका कसिंगर नै थिए । हरेक कुरामा मोलमोलाई जो हुन्थ्यो । अन्य पेशामा पाखुरी अलि बढी चलाउन पर्ने हुनाले ऊ बेरोजगार बसेको थियो । दिउँसोभरि गाउँ डुलेर राति सुत्न घर आउनु बाहेक अरु काम उसको दैनिकीमा पर्दैन थिए । अनावश्यक कुरामा बहस गर्ने बानी परेकाले गाउँलेहरुको धुलाइ बेलाबेलामा नखाएको हैन विनयले । तर पनि उसले आफ्नो बिचार कहिले उदार बनाउन सकेन ।
त्यही भएर पो माइलोले नि नमज्जाले मुखैमा मुक्का बजाको रै’छ ।
रगताम्मे घर पुगेको विनयलाई बुढीले कराइरही “काम छैन, गोदाइ खायो, घर आयो । यसो केही इलम गरेर खाँदा नि केही बिग्रिदैन नि । काम त हो कतै खोजे केही न केही भेटिहालिन्छ नि ! यसो खोज्नु न ।“
उसले सुन्यो तर केही जवाफ फर्काएन । त्यो रात विनय छिटै सुत्यो ।
०००
चिल्ला बाटोमा चिल्ला मोटरमा शयर गर्दै, विनय अग्ला अग्ला भवन अवलोकन गर्दै थियो । अलि मनमोहक दृश्य देख्यो कि गाडी रोकेर एक दुई सेल्फी मारिहाल्थ्यो । अनि हालिहाल्थ्यो फेसबुक तिर ‘एट फलानो’ भनेर ।
अनि दिनभरि गनिरहन्थ्यो लाइक र कमेन्टहरु । धुलो धुवाँ उसले देख्न पाएको थिएन, पानी सफा नै बगेका थिए खोलामा, समुद्र विशाल देखिँदै थियो । समुन्द्रमा छाल देख्दा उसको मनमा छुटै तरंग उत्पन्न हुदै थियो । राम्राराम्रा केटीलाई गाडीको झ्यालबाट टाउको निकालेर जिस्काउन सिकिसकेको थियो उसले । हरेक नयाँ आँखा झिम्क्याइसँग उसले एकै केटी फरकफरक देख्थ्यो । प्रकृति र नारीकृति दुवैले विनयलाई लोभ्याएका थिए ।
राम्रा केटीहरुसँग पार्टीमा झुमिरहेको विनय भोलिपल्ट बिहान आफ्नै नेपाली खाटमा ब्युँझिदा झसङ्ग भयो । एकछिन आफैलाई धिक्कार्यो, सपनालाई सराप्यो, देशलाइ सराप्यो ।
“कस्तो चै खाटमा सुतेछु” भनेर खाटलाई गाली गर्न भने विनयले बिर्सियो ।
अलि रिसाएको विनय एकैछिनमा फेरियो । सधैं आलस्य ल्याउने सूर्यले केही उर्जा दिएको थियो उसलाई आज । फूल मग्मगाउन थालेका थिए । छोरो रोएको सुनेर दङ्ग परेको थियो ऊ । चिया पकाउँदै गरेकी बुढीलाई डाक्दै भन्यो – “बुढी, ए बुढी सुन् त !”
“हन के भयो ?”
“म विदेश जान्छु ।”
“हैन, के भन्छन् यी बुढा !”
“हो बुढी, म विदेश जान्छु अब, पैसा कमाउन पर्यो नि !”
“अनि जाने खर्च नि ?”
“अलिकति खेत बेचौँला, अलिअलि ऋण गरौँला । उता पुगेपछि त म कमाउन थालिहाल्छु नि ! पैसा पठाउन थालिहाल्छु । तँ छोरो पढाउनु । मैले पठाएको पैसाले ऋण तिर्दै गर्नू हुन्न र ?”
“आ बुढा ! यही दुःख गरे भइहाल्यो नि !”
“तँ जान्ने नहो अब । मैले निर्णय गरिसकेँ । अब काठमाडौँतिर म्यानपावर कम्पनी बुझ्न जान्छु बरु ।”
त्यही दिन विनय जिनको झोलामा दुई जोर लुगा र नगद बोकेर काठमाडौँतिर लाग्यो ।
०००
कटनको सर्ट, पेन्ट अनि अलिकति मुस्कुराइरहेको गोल्डस्टार जुत्ता लगाएर हिडेको विनय भोलिपल्ट काठमाडौँ पुग्यो । खोजखाज गरेर सस्तोमा बस्ने बन्दोबस्त मिलायो गौशालातिर । अनि म्यानपावर कम्पनीको खोजीलाई दैनिकी बनायो ।
पहिलाको दैनिकी र अहिलेको दैनिकीमा खासै फेरबदल भएको थिएन । पहिला गाउँलेसँग झगडा गर्थ्यो, दिनभरि गाउँ डुल्थ्यो राति सुत्न घर आउँथ्यो । अचेल दिनभरी सहर डुल्छ, म्यानपावर कम्पनीमा झगडा गर्छ अनि राति सुत्न कुनै गौशालाको सस्तो होटल जान्छ ।
हरेक रात आश लिएर सुत्थ्यो विनय । अहिले गरेको दुःखले पछि सुख पाइन्छ भनेर केही आशावादी हुन थालेको थियो ऊ । त्यसैले होला काठमाडौँ छाडेर घर फर्कने उसले सोचेको थिएन । ल्याएको पैसा सकिसकेको थियो । गाउँबाट आउनेहरुलाई श्रीमतीले ऋण गरेर पैसा पठाउन थालेकी थिइन् । आधा सम्पत्ति सकेपछि बल्ल विनय विदेश जाने टुंगो लाग्यो ।
गाउँबाट श्रीमती र छोरो विनयलाई बिदाइ गर्न काठमाडौँ आए । अन्तर्राष्ट्रिय विमानस्थलमा विनय फूलमाला लगाएर बसेको थियो । बुढी रुँदै विनयको अंगालोमा बेरिएकी थिई ।
विनय सम्झाए झैँ गर्थ्यो । बुढी बुझे झैँ गर्थी । छोरो घरी आमातिर हेर्थ्यो, घरी बाबातिर । आफू हाँस्दा हाँस्ने आमा आज रोएको देखेर छोरोले पैचो तिर्यो, ह्वाँऽऽऽऽ गरेर ।
श्रीमतीका लागि असल श्रीमान् हुन मुस्किल हुँदो रहेछ, विनयले बुझ्यो । टिलपिल आँसु लिएरै भए पनि ऊ स्वास्नीलाई सम्झाइरहेको थियो – “आज दुःख गर्न जाँदैछु, भोली सुखले छोरो हुर्काउन पाइएला भनेर त हो नि ! नत्र घर छोडेर परदेशीन कसलाई पो मन लाग्छ र ? यसो बुझ तिमी पनि, तिमी नै रोयौ भने छोरो कति रुँदो हो ? तिमीमा हौसला हुनुपर्छ । उसका लागि म नफर्कुन्जेलसम्मको एक मात्र अभिभावक पनि तिमी नै हौ । फर्केपछि सँगै भइहालिन्छ नि ।“
यति भनिसक्दा विनयकी श्रीमती झन् बेसरीले रुन थालिसकेकी थिइन् र पनि भन्दै थिइन्,”चाँडै फर्कनु ल ।“
हात हल्लाएर विनयले बिदाइ माग्यो र प्रतीक्षालयतर्फ लाग्यो ।
प्रतिक्षालयको कुर्सीमा बस्दा पनि काँडा बिझे जस्तो लाग्यो उसलाई । टाउको भारी भएर आयो, लड़ौँला झैँ भयो । श्रीमतीको आँखाको गहभरीको आँसु सम्झियो । निर्दोष छोरो कुनै गल्ती गरेर रोए झैँ रोएको सम्झियो । बिदाइ गर्न लगाइएको मालाले घाँटी बिझाए जस्तो भयो । खादाले समेत थिचे जस्तो आभास भयो उसलाई । फर्किएर जाने बाटो थियो तर उद्देश्य थिएन ।
“पेसेंजेर्स मुभिंग टुवार्डस् कतार, प्लिज मुभ टु गेट टु’ भनेको सुनेर ऊ झन् तर्सियो । ऊ पसिनै-पसिना भयो । अघि झार्न नचाहेका आँसु असिना जत्रा भएर खसे, गाला हुँदै मुखमा गएर नुनिलो भयो । प्लेन कराएर उड्दा सायद विनयकी श्रीमती कराएर रोइन् ।
०००
कतारः
“हेल्लो आइ एम् अल्सो फ्रम नेपाल”, विनय भन्दै थियो उही रेलको एकै सिटमा बसेको ढाका टोपी लगाएको मान्छेलाई ।
“म नेपाली हुँ भन्ने थाहा हुँदाहुँदै के अंग्रेजीमा ‘आइ एम् अल्सो फ्रम नेपाल’ भनेर बोलेको त ?”
ढाका टोपी लगाएको मान्छेले फिस्स हाँसेर जवाफ फर्कायो ।
विनय रातो निलो भयो र छेउकै अर्को सिटमा सर्यो ।
साँच्चै कति साँघुरो छ है सोच, अनि कति प्रतिस्पर्धी छ यो दुनियाँ ! नत्र त्यति अंग्रेजी बोल्दैमा मजाक बनाउन पर्ने के थियो र ? परदेशमा नेपाली-नेपाली कति मिल्छन् भनेर सुनेको थियो उसले तर त्यस्तो कहाँ हुँदो रै’छ र ? जहाँ पनि उपल्लो र तल्लो भनौंदो भावना त भइहाल्दो रै’छ नि !
उसलाई माइलाको मुक्काले त्यति दुखेको थिएन जति अघिसम्म एकै सिटमा बसेको मान्छेको वचनले दुखेको थियो । उसले ठाउँलाई गाली गर्यो, त्यहाँ बस्ने नेपालीलाई गाली गर्यो । दुइटा रोटीको भरमा काम गर्न लाउने साहुलाई गाली गर्यो ।
अरबको पैंतालिस डिग्री तापक्रम प्रदान गर्ने घामलाई गाली नगरी ऊ कसरी बसोस् ! अग्ला भवन देख्दा उसलाई सगरमाथाले आफ्नै देशमा फर्क भनेको आभास हुन्थ्यो । चिप्ला बाटोभन्दा उसलाई हिलाम्मे बाटो मन पर्न थालेको थियो ।
पानी आफ्नै देशको मन पर्थ्यो, त्यहाँका मिठा र चिप्ला बोलीभन्दा माइलाको झापु प्यारो लाग्न थालेको थियो । श्रीमतीको र छोराको मुस्कानले नेपाल हुँदा उर्जा दिएको थियो, अहिले त्यसैले उसलाई कमजोर बनाउँदै थियो ।
महिना दिनमै ऊ गलिसकेको थियो, दिक्क भइसकेको थियो । एकमनले भन्थ्यो घर फर्कौं, अर्को मन भन्थ्यो पैसा नकमाई नफर्कौं । आफ्नै मनसँग हैरान भएर घर पठाउन चिठी लेख्योः
प्रिय,
जिन्दगी सोचे जस्तो सजिलो कहाँ हुदोरहेछ र ?
सपनामा देखेका चिल्ला बाटो र चिल्ला मोटरले चिल्ला जहाजमा शयर त गरायो । तर जिन्दगी त्यसरी नै चिप्लिन सक्दो रहेनछ ।
लाग्छ, आजै कि भोली कतै ठेस लाग्नेछ अनि म गन्तब्य नपुगी नै रोकिनेछु । छोरोको रुवाइले पनि मलाई थाहा नपाई कति हौसला दिएको रहेछ, म आज थाहा पाउँदै छु ।
तिम्रो मुस्कानले कति अर्थ राखेको रहेछ जिन्दगीमा, त्यो पनि बल्ल बुझ्दैछु । बालुवाको महल बनाउने अभिलाषा बोकिएछ प्रिय, सायद कहिले पूरा नहोला ।
तिमी छोरोको ख्याल गर ।
नमरी बाचे दैवले साँचे फेरि भेटौँला ।
उही तिम्रो,
विनय
०००
चिठी घर आइपुग्यो, अनि एउटा कफिन पनि ।
कफिनले बोकेको थियो हजारौं सपनाहरु, हजारौ आशाहरु, अनि हजारौं ढुकढुकीहरु ।
छोरोको आशा अनि श्रीमतीको शाहस एउटा बाकसमा बन्द थियो । उड्न नसकेका सपनाहरु, चुलिन नसकेको महल, तिरिन नसकेका ऋणहरु, पूरा गर्न नसकेका जिम्मेवारीहरु सोही बाकसमा कैद भएका थिए ।
श्रीमती रुदै थिइन्, छोरो फेरि केही नबुझी पैँचो तिर्दै थियो । श्रीमती सम्झिदै थिइन् होला सायद, “आज दुःख गर्न जाँदैछु, भोली सुखले छोरो हुर्काउन पाइएला भनेर त हो नि ! नत्र घर छोडेर परदेशीन कसलाई पो मन लाग्छ र ? यसो बुझ तिमी पनि, तिमी नै रोयौ भने छोरो कति रुँदो हो ? तिमीमा हौसला हुनुपर्छ । उसका लागि म नफर्कुन्जेलसम्मको एक मात्र अभिभावक पनि तिमी नै हौ । फर्केपछि सँगै भइहालिन्छ नि ।“
फर्केपछि सँगै त भइन्छ तर कसरी फर्केपछि ?
छेउबाटै काका रेडियो बोकेर हिँडे ।
झ्यारझ्यार गर्दै रेडियो भन्दै थियोः
“सुनको बाला लाउने धोको …….।“
०००
०००