४ असोज, काठमाडौं । क्वारेवियन प्रिमियर लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ ।
१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रनमा समेटियो । उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बार्बाडोसका लागि कप्तान जोसन होल्डर र जोशुआ बिशपको नाममा सामन २ विकेट रह्यो । त्यस्तै, सन्दीप, जोश लालोर र रेमोन रिफरले समान १ विकेट हात पार्यो । सन्दीपले ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट हात पारेका थिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ थालेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । उसका लागि जेपी ग्रेएभ्सले ५७ रन जोडे। बलिङमा सेन्ट लुसियाका केस्रीक विलियम्सले ३ विकेट लिए भने ओबेड म्याकोएले २ विकेट लिएका थिए ।
जितसँगै ४ खेलबाट ४ अंक जोडेको बार्बाडोस चौथो स्थानमा उक्लिएको छ । शीर्षस्थानको गुयानाको ५ खेलबाट १० अंक रहेको छ ।