Logo

निजी एयरलाइन्सलाई भ्याइनभ्याई, निगमका जहाज घाम ताप्दै



Spread the love

२८ असोज, काठमाडाैँ । हवाई सेवाप्रदायक कम्पनीका लागि दसैं व्यापारको उपयुक्त अवसर हो। निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ वा भनौं आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ।

निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने र निजी जहाजले व्यापार गर्ने स्थिति देखिन्छ।

यो अवस्था चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए। यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आलेले भनेका थिए, ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन्। जहाज घाममा सुकाएर त पैसा आउँदैन। जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरूरी छ।’

पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा १० देखि १५ करोड रूपैयाँ खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटिआर जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए।

पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर हो। पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दसैं, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन्। एयरलाइन्सको व्यापार बढेको छ। दसैंका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ। सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ। सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन्।

आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम भने निरीह बनेको छ। निगमसँग अहिले १८ सिट क्षमताका दुई थान जहाज मात्र छन्। ती पनि बेलाबेला बिग्रिरहन्छन्। निगमसँग भएका दुई साना र चार थान वाई१२ जहाज बिक्रीको प्रक्रियामा छ। ती जहाज विमानस्थलमै थन्किएका छन्।

निगमले काठमाडौं बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमकोट, बाजुरा, हुम्ला लगायत जिल्लामा उडान गर्ने गरेको छ।

निगमको टिकटका लागि उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ। निगमका एक उच्च अधिकारीका अनुसार दसैंमा सर्वसाधरणले टिकट पाउँदैनन्, पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन्।

पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन। निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो। ‘आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ। त्यसैअनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन,’ निगमका एक निर्देशकले भने।

अन्तर्राष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापतको भरमा निगमले आफ्नो जीविकोपार्जन गरिरहेको छ। निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो। झन्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन्। यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन्।

अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ। अहिले अन्तर्राष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ। आन्तरिकमा उपस्थिति मात्रै छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताए। उनले निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे।

‘निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने! त्यसैले तत्कालै जहाज थप्नुपर्छ,’ उनले भने।

महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी आठ थान जहाज थप्नुपर्ने हुन्छ। त्यस्तै अन्तरराष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ।

समस्याग्रस्त रहेको निगममा पछिल्लोपटक कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पार्यो।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्ना लगायत कार्यक्रम गर्दै आएका थिए।

निजी एयरलाइन्सको बिजनेस बढ्दो

निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ। दसैं तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार बढ्दो छ। ठूला एयरलाइन्सको दसैंका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ। दसैंका लागि केही उडान संख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन्।

शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरू पनि लालाहित छन्। आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैं बिजनेसका लागि साबिकको उडान संख्या बढाएर यात्रुको मागअनुरूप सेवा दिइरहेका छन्।

बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ। दुई साना र १३ एटिआरसहित कुल १५ जहाजमार्फत् दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत् विभिन्न आठवटा गन्तव्यमा उडान भर्दै आएको छ। श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत् उडान सञ्चालन गरिरहेको छ। गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ।

आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्