बागलुङ, चैत ३ गते । बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ ।
खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल तीन घण्टामा विद्यालय पुग्छन् । शारीरिक र मानसिक थकान बोकेर विद्यालय छिर्ने छन्त्याल घर फर्कदा साँझ छिप्पिसकेको हुन्छ । कक्षाकोठाको भन्दा दोब्बर समय उनको विद्यालय जाँदाआउँदा खर्च हुन्छ ।
सदरमुकामदेखि ३६ कोश टाढा तमानखोला गाउँपालिका–६ भित्रीवनका १६ वर्षीय छन्त्यालको दैैनिकी दुई वर्षदेखि यसरी नै चलेको छ । गाउँमै मावि तहको विद्यालय नभएपछि उनी तीन घण्टाको दूरीमा रहेको शान्ति मावि, खुङ्खानी जान बाध्य छन् । उनीमात्र होइन भित्रीवन, नर्जाखानी र पात्ले गाउँका विद्यार्थी कक्षा ९ र १० पढ्न खुङ्खानी पुग्नुपर्छ । जिल्लाकै अतिविकट मानिने ६ नं वडाका तीनै गाउँमा विद्यालय नै नभएको भने होइन ।
नर्जाखानीमा विष्णु आधारभूत विद्यालय, भित्रीवनमा दिल्ली प्रावि र पात्लेमा मालिका प्रावि छ । अर्को विडम्बना, दिल्ली र मालिका प्राविका विद्यार्थी आधारभूत तह पढ्न डेढ घण्टा हिँडेर विष्णु आधारभूत विद्यालय आउनुपर्ने बाध्यता छ । दिल्ली प्राविमा कक्षा ५ सम्म र मालिका प्राविमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ । तिनै विद्यार्थीले जब आधारभूत तह पार गर्छन् अनि शुरु हुन्छ उनीहरुको कष्टसाध्य दैनिकी । वर्षेनी ती विकट गाउँबाट १२÷१५ जना विद्यार्थी मावि पढ्न खुङ्खानीको शान्ति मावि पुग्छन् ।
तर, पाँच÷सात जनाले विद्यालय टाढा भएकै कारण बीचैमा पढाइ छोड्छन् । पात्ले गाउँका जगत सिरपालीको विद्यालय हाजिरी ७५ प्रतिशत पनि नपुगेपछि यो वर्षको ‘एसईई’ परीक्षा दिनबाट वञ्चित भएका छन् । शुरुमा उनी पनि पात्लेबाट तीन घण्टा हिँडेर वडा नं ५ खुङ्खानीको शान्ति मावि आउने गर्थे । शान्ति माविका प्रअ सत्यनारायण सिंहका अनुसार वडा नं ६ बाट वर्षेनी भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थीले बीचैमा विद्यालय छोड्ने गरेका छन् । विद्यालय छोड्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको उहाँको भनाइ छ ।
“विकट भूगोल छ, विद्यालय पुग्न घण्टौँ लाग्छ” उहाँले भन्नुभयो “गरिबी र अशिक्षाका कारण पनि विद्यालय छोड्छन् ।” वडा नं ६ नर्जाखानीका महेन्द्र विक पनि दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छन् । शान्ति माविमा कक्षा ९ मा अध्ययनरत विकको अहिले परीक्षा चलिरहेको छ । विद्यालय आउजाउमै घण्टौँ लागेपछि परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको विकले दुःखेसो गरे ।
गाउँपालिकाले भने छात्राबास बनाएर भए पनि टाढाका विद्यार्थीलाई नियमित विद्यालय ल्याउने योजना बनाएको छ । “खुङ्खानीमा आवासीय सुविधासहित छात्राबास बनाउने योजना छ” गाउँपालिका अध्यक्ष जोकलाल बूढाले भन्नुभयो । नर्जाखानीमा तत्काल मावि तह सञ्चालनको सम्भावना नरहेको उहाँको भनाइ छ । (रासस)