Logo

कोरोना संक्रमितलाई १० हजार दिइने



Spread the love

२९ बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आर्थिकरुपमा विपन्न रहेका व्यक्तिलाई कोरोना सङ्क्रमित भएको अवस्थामा उपचार खर्चबापत रु १० हजार प्रदान गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण दर उच्च रुपमा फैलिरहेको अवस्थामा नगरभित्रका आर्थिक रुपमा विपन्न रहेका नागरिकलाई उपचार खर्चबापत नगरपालिकाले रु १० हजार प्रदान गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख महेश खरेलले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै विश्वमा महामारीका रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सावधानीका उपाय अपनाइ नगरलाई सुरक्षित राख्न सहयोग गर्नका लागिसमेत आम नगरवासीमा अपिल गरेका छन् ।

नगरभित्र पनि नयाँ भेरियन्टसहितको कोभिड–१९ बाट प्रभावित बन्दै गएको अवस्थामा सो रोगबाट सङ्क्रमित भई अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा उपचारत अति विपन्न नागरिकलाई सम्बन्धित वडा कार्यालयको सिफारिस र अस्पतालको प्रमाणित कागजातका आधारमा कोभिड–१९ उपचार खर्चबापत नगरपालिकाले रु दश हजार उपलब्ध गराउने निर्णय गरिसकेको नगरप्रमुख खरेलले बताए ।

यसअघि यह िवैशाख २६ गते नै नगरप्रमुख खरेलले विज्ञप्ति जारी गर्दै नगरपालिकाका प्रमुख, उपप्रमुख चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको छ । पाँचखालका बासिन्दालाई परेको असहज परिस्थितिमा सहयोग, सद्भाव र सेवा उपलब्ध गराउनु नगरपालिका कार्यालय तथा जनप्रतिनिधिको पहिलो कर्तव्य भएकाले अहिलेको विषम परिस्थितिमा नगरभित्र सञ्चालित चार एम्बुलेन्सले मात्रै कोभिड–१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोभिड सङ्क्रमित बिरामीहरुलाई सेवा दिनका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्नका लागि व्यवस्था गरिसकेको नगरप्रमुख खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्