Logo

नेप्सेमा उच्च अङ्कको वृद्धि, बजार पूँजीकरण पुनः ३७ खर्ब माथि



Spread the love

२८ बैशाख, काठमाडाैँ । कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भएको भएपनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकलाई कुनै असर गरेको छैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २७.४७ बिन्दुले उकालो लागेर दुई हजार ६७३.३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै रु छ अर्ब बराबर भएको छ ।नेप्सेका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर रु पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । जीवन बीमा २६७.१८, व्यापार २२१.६७ र निर्जीवन बीमा १७६.४८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।

आजको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल रु ३७ खर्ब नौ अर्ब पाँच करोड ६८ लाख ७४ हजार ५०६ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशा निर्देश गरेको छ ।

नेप्सेका अनुसार आज बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए ।

यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए । कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोवार भयो । यस्तै अपि पावर रु २० करोड २३ लाख ७० हजार ३८१ र शिवम् सिमेन्ट रु १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्