Logo

२० वटा प्रश्न उत्तरमा जान्नुहोस् कोरोना भाइरसको दोश्रो लहर र यसबारे विस्तृत जानकारी



Spread the love

२० बैशाख, काठमाडाैँ । विश्वमा कोरोना भाइरस फैलिएसँगै जनस्वास्थ्यविद् डा. रबीन्द्र पाण्डे यसबारे जनचेतना फैलाइरहेका छन् । कोरोना भाइरसको संक्रमण हुन नदिन के गर्ने ? र भइहालेको अवस्थामा के गर्ने भन्ने पक्षमा उनले सुझाव दिइरहेका छन् ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरू भएपछि उनले कोरोना भाइरसबारे विभिन्न सवाल जवाफहरू राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत ती विचारहरू राखेका हुन् ।

१. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ?

–ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसंग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ । समयमै पिसिअर गरेमा रोग पत्ता लाग्छ । आफु आइसोलेसनमा बसेमा परिवारलाई संक्रमणबाट बचाउन सकिन्छ । रोग पत्ता लागेपछि गाह्रो भएमा कहाँ र के उपचार गर्ने भन्ने थाहा हुन्छ । तसर्थ पिसिआर टेस्ट गर्नुपर्दछ।

यसपटक पिसिआरबाहेक छातीको एक्सरे गर्नु उपयुक्त हुन् । कोभिड निमोनिया देखिएमा तदनुसारको उपचार गर्दा गम्भीर अवस्था आउनबाट बचिन्छ ।

२. खोपले काम गरेको छ कि छैन् ? खोप लगाएका संक्रमित भएका छन् कि छैनन् ?

–खोप लगाएका व्यक्तिलाई पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा संक्रमण हुन्छ । उनीहरुको संक्रमण अन्य व्यक्तिलाई सर्न सक्छ । फरक यो छ कि खोप लगाएका व्यक्तिको गम्भीर हुने वा मृत्यु हुने दर नगण्य छ । प्रमाणित खोप जुनसुकै लगाएपनि गम्भीर हुनबाट बचाएको छ ।

३. के भिटामिनहरुले कोरोना ठिक गर्छन् ?

– भिटामिन सी, डी र जिंक लाभदायक छन् । तर यी औषधिले कोरोना ठिक गर्दैनन् ।

४. एन्टिबायोटिक खाँदा कोरोना ठिक हुन्छ ?

–एन्टिबायोटिकले कोरोना भाइरसलाई नष्ट गर्दैन । निमोनिया भएर ब्याक्टेरियल संक्रमण भएमा मात्र उपयोगी हुन्छ । तसर्थ जथाभावी औषधि सेवन गर्नुहुँदैन् ।

५. के जडिबुटी वा आयुर्बेद औषधिले कोभिड निको गर्छ ?

–गर्दैन । सम्बन्धित चिकित्सकको सिफारिसमा मात्रा मिलाएर सेवन गर्दा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने चीन, भारत, मदागास्कर, श्रीलंका आदि देशमा भएका अनुसन्धानले पुष्टि गरेका छन् ।

६. के सिटामोलको कोर्स पुरा गर्नुपर्छ ?

–पारासिटामोल ज्वरो १०० डिग्रीको आसपास पुगेमा वा टाउको र जिउ दुखेमा मात्र सेवन गर्ने हो । नियमित सेवन गर्नुहुँदैन् ।

७. अक्सिमिटरलाई कति पर्छ ? कहाँ पाइन्छ ? कति अक्सिजनको स्तर नर्मल हो ?

–अक्सिमितर १२०० देखि ५ हजारसम्म पर्छ ? महँगो किन्नुपर्दैन । औषधि पसल वा सर्जिकल हाउसमा यो किन्न पाइन्छ ्र ९५ देखि १०० यसको नर्मल भ्यालु हो ।

८. अक्सिजनको लेभल ९४ बाट घटे के गर्ने ?

–घोप्टो परेर सुत्ने । यसो गर्दा अक्सिजनको स्तर बढ्छ । यति गर्दा पनि घटेन भने फोक्सोमा संक्रमण भएको बुझिन्छ । अक्सिजन ९२ बाट तल भएमा तुरुन्त अस्पताल जानुपर्छ । छातीको सिटि वा एक्स रे बाट फोक्सोमा निमोनिया वा संक्रमण भएको थाहा हुन्छ । यसो भएमा चिकित्सकको सल्लाह अनुसार भर्ना हुने वा औषधि खानुपर्दछ ।

९.अस्पताल प्याक छन् ? अब के गर्ने ?

–सामान्य अवस्थामा चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बस्नुपर्दछ । यदि सास फेर्न गाह्रो भए, अक्सिजनको मात्रा कम भए, निकै गाह्रो भए तुरुन्त अस्पताल जानुपर्छ । भरे वा भोलि जान्छु भन्नु हुँदैन् । अस्पतालको फिभर क्लिनिकमा जाँच गराएपछि तपाईको अवस्था अनुरुप चिकित्सकले उपचारको व्यवस्था गर्छन् ।

१०. मास्कलाई किन खोपभन्दा राम्रो मानिन्छ ?

– मास्क सस्तो, प्रभावकारी, साइड इफेक्ट नभएको तथा सर्व सुलभ छ । डबल मास्क लगाउने बानी गर्ने हो भने जुनसुकै प्रजातिको भाइरस आएपनि डर मान्नुपर्दैन ।

११. सुत्केरी संक्रमण भएमा बच्चालाई दुध चुसाउने कि नाचुसाउने ?

–सुत्केरीले मास्क लगाएर, बच्चाको बिपरित दिशामा टाउको फर्काएर तथा स्तनलाई राम्रोसंग सफा गरेर दुध चुसाउन मिल्छ । दुध चुसाउने बेला बाहेक बच्चालाई छुट्टै राख्नु राम्रो हुन्छ । सुत्केरी बस्ने कोठाको झ्याल र ढोका खुला हुनुपर्छ।

१२. यो महामारी कति खतरनाक छ ?

–यसपटकको दोस्रो लहर धेरै संक्रामक भएपनि मृत्युदर कम छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमण हुँदैन । संक्रमण भएमा स्वस्थ आहार, बिहार र उपचारले खतराको अवस्था हुँदैन ।

१३. सास फेर्न गाह्रो भए घरमा अक्सिजन सिलिन्डरबाट अक्सिजन लिए ठिक हुन्छ ?

–हुँदैन । फोक्सोमा संक्रमण र निमोनिया र पानी जम्ने आदि भएमा सास फेर्न गाह्रो हुन्छ । रोगको उपचारसंगै अक्सिजन लिंदा फाइदा गर्छ । अक्सिजन आफैले रोग निको गर्दैन । फोक्सोको अवस्था अनुसार अक्सिजनको मात्रा निर्धारण हुन्छ । तसर्थ अस्पताल भर्ना भएर वा निको भएर घरमा फर्के पछि सास फेर्न गाह्रो भए चिकित्सकको सल्लाह अनुसार अक्सिजन लिनुपर्दछ ।

१४. सामाजिक संजालमा लेखेका वा अन्य निको भएका संक्रमितले प्रयोग गरेका औषधि सेवन गर्ने कि नगर्ने ?

–नगर्ने । हरेक व्यक्तिको अवस्था फरक फरक हुन्छ ्र चिकित्सकको सल्लाह बिना औषधिको जथाभावी सेवन गर्दा झन् खराब अवस्था हुन्छ ।

१५. कोभिडको उपचार के छ ?

–कोभिडको हालसम्म ठोस उपचार छैन । औषधि, अक्सिजन आदिले शरीरका अंगलाई सुरक्षित राख्ने, सजिलो बनाउने तथा भाइरसले असर गरेका अंगलाई सपोर्ट दिएर बिरामीलाई बचाउने मात्र हो ।

१६.पोहोर संक्रमण भएको व्यक्तिलाई अहिले संक्रमण हुन्छ कि हुँदैन् ?

– मापदण्ड पालना नगरे संक्रमण हुन्छ ।अहिलेको नयाँ प्रजातिको संक्रमणले गम्भीर बनाउन सक्छ ।

१७. कोभिड र खोपबारे फरकफरक धारणा छन् ? कसको कुरा पत्याउने ?

–विभिन्न वैज्ञानिक परीक्षणबाट कोभिड र खोपको पुष्टि भएको छ । अनधिकृत व्यक्तिका भ्रामक कुरा सुन्नुहुँदैन् । सरकारले दिने सूचना र विज्ञका कुरा विश्वास गर्नुपर्दछ । कोरोना के हो ? भन्नको लागि अस्पतालमा छटपटाइरहेका संक्रमित हेरे स्पष्ट बुझिन्छ । खोपले काम गर्ने र नगर्नेबारे खोप लगाएका व्यक्तिको मृत्युदर हेरे थाहा हुन्छ।

१८. लकडाउन किन, कति समय आवश्यक हुन्छ ? लकडाउन छोटो गराउन के गर्नुपर्छ ?

–लकडाउन भनेको जो जहाँ छ, त्यहीं बस्ने हो । नयाँ महामारी आएमा, महामारीको कारण अस्पताल भरिएमा, नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा तथा सरकारले तयारी गर्नको लागि लकडाउन गरिन्छ । लकडाउन जति कडा भयो, संक्रमणको चेन त्यति छिटो तोड्न सकिन्छ । यसको लागि नागरिकले मापदण्ड पालना गर्ने तथा सरकारले पालना गराउनेतर्फ पुरै शक्ति केन्द्रित गर्नुपर्छ । यसो भएमा ३ हप्ताको लकडाउन पर्याप्त हुन्छ । लकडाउनको अवधिमा सरकारले दैनिक काम गरेर गुजारा गर्ने व्यक्तिलाई राहतको व्यवस्था गर्नुपर्दछ । अनुशासित नागरिक र जिम्मेवार सरकारको संयोगले लकडाउन छोटो गर्न सकिन्छ ।

१९. यो स्थिति कहिलेसम्म रहला ?

–दोस्रो लहर अझै २ – ३ महिना रहन्छ । त्यसपछि घट्दै जान्छ । महामारीबाट मुक्त हुनको लागि ७० प्रतिशत नागरिकले खोप लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर भाइरसलाई मान्छेबाट अलग्याउनु पर्दछ ।

२०. महामारीमा आत्मबल कसरी बढाउने ?

– यो महामारीले संसारलाई चपेटामा पारेको छ । सबैको आर्थिक, शैक्षिक, पेशागत तथा अन्य क्षेत्रमा नोक्सान पुर्याएको छ । महामारी नियन्त्रणमा आएपछि ती सबै घाटा सन्तुलनमा आउनेछन् । अहिले जीवनरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण विषय हो । योग, ध्यान, प्रवचन श्रवण, संगीत, कला, साहित्य, घरको काम आदिबाट मनलाई सकारात्मक उर्जामा स्थिर राख्न सकिन्छ । तनाव दिने खालका कुरा नसुन्ने र नहेर्ने तथा मनमा कोरोना मात्र बोकेर नहिड्ने हो भने चिन्ताले अस्वस्थ हुने अवस्था उत्पन्न हुँदैन् ।

प्रतिक्रिया दिनुहोस्