Logo

दाङका संस्थापक नेता गौतमको अन्त्येष्टि



Spread the love

२५ मंसिर, दाङ । कम्युनिष्ट पार्टी दाङका संस्थापक मणिकलाल गौतमको बुधबार घोराहीको रझेनास्थित शङ्खे पीपलघाटमा दाहसंस्कार गरिएको छ ।

सो अवसरमा श्रद्धाञ्जलि मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कठिन अवस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर लागेकाले नै पार्टी अहिले यो स्थानमा आइपुगेको बताए ।

अहिले कम्युनिष्ट आन्दोलन मुख्य शक्तिका रुपमा स्थापित भएको भन्दै उनले यो शक्ति निर्माणका लागि गौतमलगायत संस्थापकको योगदान महत्वपूर्ण रहेको बताए । मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट आन्दोलनमा मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अग्रजको भूमिका महत्वपूर्ण रहेको भन्दै यसबाट अबको नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताए ।

उनले पार्टीमा समस्या देखिएमा अग्रजको सल्लाह, सुझाव लिएर कमीकमजोरी सुधार गरी एकढिक्का बनाउने गरेको उल्लेख गर्दै अहिले पनि पार्टीभित्र समस्या देखिएको र यस्तो गम्भीर अवस्थामा अग्रज गुमाउनुपर्दा आफू दुःखी भएको बताए ।

प्रदेश सरकारको स्थापना दिवसका अवसरमा गौतमलाई पदकले सम्मान गर्ने भनी छनोटसमेत गरेको उनले जानकारी दिए । घोराही उपमहानगरपालिका–१८ रझेना निवासी गौतमको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद्का सदस्यसमेत रहेका थिए ।

निधनप्रति नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले दुःख व्यक्त गरेका छन् । विसं २००९ मा कम्युनिष्ट पार्टीको स्थापना हुँदा गौतमको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँको योगदान, अनुभव र शिक्षा सधैँ सम्झिने र अनुशरण गर्नेसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्